
बुधवार , आषाढ २०, २०८१
बुटवल, १९ असार ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली असार २० गते बिहीबार (भोलि) रुपन्देहीको बुटवल आउने भएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्न ओली बुटवल आउन लागेका हुन् ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईई मा ३.६ जीपीए प्राप्त गर्न सफल १ हजार २८ विद्यार्थीलाई एकैठाउँ सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।
दिउँसो साढे १२ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तरक्रिया पनि गर्ने छन् । अन्तरक्रियात्मक ढंगले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले अध्यक्ष ओलीसँग बालबालिकाहरुको अन्तरक्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरुको पनि कार्यक्रममा सहभागिता रहने बताए ।
कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवं रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल समेत सहभागी हुनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij