२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

गुणस्तरीय शिक्षा र व्यवहारिक सिकाइका लागि अभियान चलाउँदैछौं : मन्त्री खत्री

शनिवार , आषाढ १६, २०८१

दाङ, १५ असार ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय शिक्षा र व्यवहारिक सिकाइका लागि प्रदेश सरकारले अभियान नै चलाउने बताएका छन् । उनले विद्यालयमा प्रविधिमैत्री शिक्षा र निरन्तर सिकाइ एवं मूल्यांकन प्रणालीलाई थप सुधार तथा विस्तार गर्न सरकारले पहल गरिरहेको बताए ।

दाङको भालुवाङमा शुक्रबार आयोजित प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलनमा बोल्दै मन्त्री खत्रीले बालबालिकाको गुणस्तरीय शिक्षा पाउने अधिकार सुनिश्चित गर्न शिक्षकहरुलाई पेशाप्रति जवाफदेही र उत्तरदायी बनाउन पेशागत शुद्दीकरण तथा सुदृढीकरणका लागि समेत पहल गर्ने बताए । 

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुमार खड्काले सार्वजनिक शिक्षामा भएका असल अभ्यास, सिकाइ र चुनौतीको आदानप्रदान गर्ने संयन्त्रहरुको निर्माण गरी क्षमता अभिवृद्धि गर्ने योजना बनाएको बताए । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय कायम मुकायम सचिव टेकराज पन्थीले समावेशी, बालमैत्री, लैंगिकमैत्री र अपांगतामैत्री शिक्षाको सुनिश्चितताकालागि मन्त्रालयले थुप्रै योजना ल्याएको बताए । 

शिक्षाका लागि राष्ट्रिय अभियानका उपाध्यक्ष शान्त्वना देवकोटाले सबैका लागि शिक्षा र गुणस्तरीय सिकाइका लागि सरकारले नागरिक समाजको भूमिका बढाउन आग्रह गरिन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले लुम्बिनी प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन आयोजना गरेको हो । सम्मेलनले २३ बुँदे लुम्बिनी घोषणापत्र जारी गरेको छ । जसमा सार्वजनिक शिक्षाको रुपान्तरणको निमित्त सरकारले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरुमा गरेको प्रतिवद्धता बमोजिम स्थानीय तथा प्रदेश सरकारहरुले आफ्नो कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ । यस्तै,  सार्वजनिक शिक्षाको सुनिश्चितताको लागि प्रदेश सरकारले स्थानीय सरकारलाई स्थानीय साधनस्रोतको व्यवस्थापन र परिचालन क्षमता अभिवृद्धि गर्न सघाउनुपर्ने, शिक्षाको गुणस्तरीय सिकाईका आधारभूत पक्षहरुमा पर्याप्त बजेटको व्यवस्था गर्न आग्रह गरेको छ । निःशुल्क शिक्षा सम्बन्धि संविधानको मर्मलाई व्यवहारतः कार्यान्वयन गर्न सरकारले आर्थिक, कानूनी र नीतिगत जवाफदेहीता बहन गर्दै प्रभावकारी कार्यान्वयनका लागि निगरानी गर्न स्थानीय र समुदायस्तरमा अनुगमन संयन्त्र निर्माण गर्न अनुरोध गरिएको छ ।   

सार्वजनिक शिक्षामा स्थानीय तहले गरेका असल अभ्यास, सिकाइ र चुनौतीको आदानप्रदान गर्ने संयन्त्रहरुको निर्माण गरी स्थानीय तहलाई सहजीकरण र क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारले सघाउनुपर्ने आग्रह गरिएको छ । विद्यालयहरुलाई भुकम्प तथा अन्य प्राकृतिक विपद्बाट सुरक्षित गराउन र जस्तोसुकै अवस्थामा पनि शिक्षा तथा सिकाइमा गतिरोध आउन नदिन प्रदेश तथा स्थानीय सरकारहरुले पहुँचयुक्त पूर्वाधारका लागि आवश्यक योजना र बजेट व्यवस्था गर्न आग्रह गरिएको छ । 

शिक्षाका लागि राष्ट्रिय अभियानका लुम्बिनी प्रदेश अध्यक्ष समिता मल्लको अध्यक्षता तथा सचिव कृष्ण मल्लको सञ्चालनमा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, प्रदेश र स्थानीय तहका शिक्षा प्रमुखहरुको आतिथ्यतामा हामी शिक्षा र बालबालिकाको क्षेत्रमा क्रियाशील नागरिक समाजका संघ–सस्थाहरु, पत्रकार, शिक्षक, युवा र विद्यार्थी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।