
बिहिवार , आषाढ १४, २०८१
रुपन्देही, १३ असार ।
गत असार १ गते आएको लुम्बिनी प्रदेश सरकारको बजेट बुधबार बहुमतले पारित भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको थियो । विनियोजित बजेटमध्ये चालूतर्फ रु.११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात् २८ प्रतिशत र पूँजीगततर्फ रु.२४ अर्ब ५८ करोड, ५९ लाख रुपैयाँ अर्थात् ६३ प्रतिशत रहेको छ ।
त्यस्तै, वित्तीय हस्तान्तरणका लागि रु.३ अर्ब १४ करोड १३ लाख अर्थात् ८ दशमलव ०६ प्रतिशत हुने अनुमान सरकारको छ । चौथो अधिवेशनको २३ औं बैठकले प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो । प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरेका थिए ।
आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेश सभा नियमावली २०७९ को नियम १४२ को उपनियम ६ बमोजिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । बजेटमाथि सोमबार, मंगलबार र बुधबार तीनदिन लगातार सदनमा छलफल भएको थियो ।
शहरी विकास तथा खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कृषि तथा भूमिव्यवस्था मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल भएको थियो । सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले समेत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
बुधबार पनि आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा, लोकसेवा आयोग र मुख्यन्याधिवक्ताको कार्यालयको बजेटमाथि पनि छलफल भएको थियो ।
बजेट छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरूले सरकारले ल्याएको बजेटमा सन्तुलनको अभाव देखिएको, मन्त्री र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित भएकोजस्ता विषयहरू उठाएका थिए । तर, ती विषयहरूको सम्बोधन गर्न प्रदेश सभामा रहेका दलहरुबीच नेपाली कांग्रेस र नेकपा एमालेबाट २÷२ र नेकपा (माओवादी केन्द्र) बाट १ सांसद गरी ५ सदस्यीय संसदीय समिति बनाउने सहमति गरेर कांग्रेस सांसदहरूले गरेको सदन अवरुद्ध हटेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij