२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

ओमसतियाले ल्यायो ४९ करोड २२ लाखको बजेट

मंगलवार , आषाढ १२, २०८१

  • 871
    Shares
  • 871
    Shares
  • भैरहवा, ११ असार ।

    रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । ओमसतियाले ४९ करोड बढीको बजेट ल्याएको हो ।

    सोमबार गाउँपालिकाको १५ औं अधिवेशनमा आगामी आ.व. २०८१/०८२ लागि उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २२ लाख १८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिन् । 
    बजेटमा विद्यालयको पहुँच बाहिर रहेका र बीचमै विद्यालय छाड्ने बालबालिकाको तथ्यांक एकिन गरी प्रोत्साहनयुक्त प्याकेज कार्यक्रम संचालन गर्न प्राथमिकता दिइएको छ ।

    गाउँपालिकाभित्र प्रचलनमा रहेका मातृभाषाहरुको संरक्षण गर्न लिपि तथा व्याकरण लेखन एवं प्रकाशन गर्ने, पर्यावरण तथा बातावरण संरक्षणका लागि पोखरी संरक्षण, ढुंगागिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ र अन्य प्राकृतिक स्रोतको अनाधिकृत एवं अवैज्ञानिक दोहनलाई नियन्त्रण गरिने र गाउँपालिकाभित्र आवासीय भवन निर्माण गरिँदा ‘एक घर, एक विरुवा’ नीति अवलम्बन गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिइन् ।

    स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराउने गर्भवती तथा सुत्केरी महिला र गम्भिर स्वास्थ्य समस्या भएका विपन्न बिरामीलाई उपचारका लागि अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, आउँदो आर्थिक वर्षदेखि कृषि मिटर जडान गरेका कृषकलाई विद्युत महशुलमा ५० प्रतिशत छुट दिइने नीति लिइएको र यसका लागि आवश्यक बजेट छुट्याइएको उनले बताइन् ।

    कुष्ठरोग, क्षयरोग, पाठेघरको मुखको क्यान्सर, एचआइभी एड्स, सिकलसेल एनिमिया जस्ता रोगबाट हुने जोखिम न्यूनीकरणका लागि बिरामीको नियमित खोजपड्तालका कार्यक्रम सञ्चालन गर्ने र यसका लागि आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

    ‘सबै क्षेत्रको समानुपातिक विकास गर्ने गरी बजेट ल्याएका छौं’, गाउँपालिका उपाध्यक्ष चौधरीले भनिन्, ‘पालिकालाई हरेक क्षेत्रमा सम्पन्न गराउने हाम्रो लक्ष्य छ ।’

    पालिकाको आगामी नीति तथा कार्यक्रमका लागि पालिकाभित्रका सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुसँग सरसल्लाह गरी तयार गरिएकोले समग्र पालिकाबासीको भावना समेटिएको पालिका अध्यक्ष मञ्जित कुमार यादवले बताए । कृषि, महिला सशतिmकरण, जेष्ठ नागरिक, बालबालिका, लक्षित वर्ग सबैलाई समेट्ने गरी आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याइएको अध्यक्ष यादवले बताए । 

    पालिकाको सार्वजनिक प्रशासन चुस्त राख्ने, सुशासन कायम राख्ने, प्रशासनिक सेवालाई छिटोछरितो र जनमुखी बनाउने जस्ता कार्यक्रम समेटिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जानकारी दिए ।