२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

कञ्चनको बजेट ५७ करोड २१ लाख

मंगलवार , आषाढ १२, २०८१

  • 730
    Shares
  • 730
    Shares
  • कञ्चन, ११ असार । 
    रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५७ करोड २१ लाख २० हजार ६ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपप्रमुख मौसमी थापाले चालूतर्फ रु. ३७ करोड ६७ लाख ९० हजार ६ सय ५० अर्थात कुल बजेटको ६५ दशमलब ८६ प्रतिशत र पूँजीगततर्फ १९ करोड ५३ लाख ३० हजार अर्थात कूल बजेटको ३४ दशमलब १४ प्रतिशत बजेट गाउँसभामा प्रस्तुत गरिन् ।

    कञ्चनले प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्ष २०८०/०८१ को भन्दा करिब ६ करोड बढी हो । गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि ५१ करोड ३८ लाख ४६ हजार ७ सय १७ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । 

    सोमबार भएको गाउँ सभामा उपाध्यक्ष थापा मगरले ‘समुन्नत कञ्चन सुखी कञ्चनबासी’ को नारा पूरा गर्ने अभियानसहित कञ्चनको भौतिक पूर्वाधारको विकास, कृषि, वन, वातावरण, पर्यटन क्षेत्रको विकासलाई पनि प्राथमिकता राखेर बजेट विनियोजन गरिएको बताइन् । 

    WhatsApp Image 2024-06-24 at 7.01.43 PM.jpeg

    सामूदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै सामूुदायिक विद्यालयलाई मर्जरमा लैजाने, स्थानीय पाठ्यपुस्तक तयार गर्न प्राथमिकता दिने, सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने बजेटमा उल्लेख गरिएको छ । 

    त्यसै गरी जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम, सुत्केरी पोषण कार्यक्रम, कञ्चनमा उज्यालो कञ्चन कार्यक्रम अन्तरगत नेपाल विद्युत प्राधिकरणको सहलगानीमा वडा नम्बर ३ को हरैयादेखि वडा नम्बर ५ को गरगरेसम्म स्मार्ट सडक बत्ती जडान गर्न बजेट विनियोजन गरिएको छ । 

    कृषि क्षेत्रको विकासबाट गरिबी निवारणमा सहयोग पुग्ने भएकोले बजेटमा कृषिलाई प्राथमिकता दिइएको छ । सिंचाईको व्यवस्था गर्दै आधुनिक  यान्त्रीकरणमा जोड दिने गरी कृषि क्षेत्रको विकासमा बजेट बिनियोजन गरिएको छ । कृषकलाई उत्पे्रेरित गर्ने गरी लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको उल्लेख छ । 

    त्यसै गरी कञ्चनका पुरानो संस्कृति झल्काउने मगर, थारु, गुरुङ समुदायको अधुरो भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । भूक्षय नियन्त्रण, वैकल्पिक उर्जा प्रवद्र्धन, बनबाट प्राप्त हुने लाभका लागि सम्मृद्धिका लागि बन कार्यक्रमलाई बजेट विनियोजन गरिएको छ । 

    त्यसै गरी फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइडका लागि बजेट व्यवस्था गरिएको छ भने विपद् जोखिम न्यूनीकरण गर्न पनि बजेटले प्राथमिकता दिएको छ । बजेटमा जेष्ठ नागरिक, लैंगिक समानता, अपांगहरुको हकअधिकार, पछि पारिएका बालबालिकाको सशक्तिकरण र क्षमता विकासका लागि तालिम लगायतका कार्यक्रम गर्न बजेट बिनियोजन गरिएको छ ।