२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

सियारीले ल्यायो ९० करोडको बजेट

मंगलवार , आषाढ १२, २०८१

  • 958
    Shares
  • 958
    Shares
  • भैरहवा, ११ असार ।
    रुपन्देहीको सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट सार्वजनिक गरेको छ । सोमबार सियारीमा आयोजित गाउँ सभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष तारा थारुले आर्थिक बर्ष २०८१/८२ को लागि बजेट सार्वजनिक गरेकी हुन् । 

    संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट प्राप्त हुने रकम समेतबाट गरी ९० करोड ७३ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याइएको उपाध्यक्ष तारा थारुले जानकारी दिइन् । 

    गाउँपालिकाले ल्याएको बजेटमध्ये ७० करोड ७३ लाख ४८ हजार रुपैया संचित कोष मार्फत हुनेछ भने बाँकी रहेको २० करोड सामाजिक सुरक्षामा खर्च हुनेछ । गाउँपालिकाले चालुतर्फ रु. ४४ करोड ५२ लाख ४३ हजार (६२.९५ प्रतिशत) र पुँजीगत तर्फ रु. २६ करोड २१ लाख ५ हजार (३७.०५ प्रतिशत ) प्रस्ताव गरिएको उपाध्यक्ष थारुले जानकारी दिइन्  । 

    उपाध्यक्ष थारुले आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट समानिकरण अनुदानमा १२ करोड ९२ लाख,  संघीय सर्शत अनुदानबाट रु. ३४ करोड ७१ लाख २१ हजार, संघीय विशेष अनुदानबाट रु. ५० लाख, प्रदेश समानिकरण अनुदानबाट रु. ८८ लाख ७२ हजार, प्रदेश सर्शत अनुदानबाट रु. ९६ लाख, समपुरक अनुदानबाट ७० लाख, विशेष अनुदानबाट रु. २० लाख, संघीय राजश्व बाडफाँट रु.१० करोड ६ लाख, प्रदेश राजश्व बाडफाँडबाट रु. ३८ लाख ७२ हजार प्राप्त हुने बताइन् । 

    कृषि, पर्यटन र दीगो पूर्वाधार यूक्त नगरीः समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी भन्ने प्रथम आवधिक योजनाको दीर्घकालीन सोचअनुसार अघि बढ्दै बजेट ल्याइएको उपाध्यक्ष थारुले बताइन् । उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा केन्द्रित रहेर बजेट व्यवस्थापन गरिने जानकारी दिइन् ।