२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थनगरको बजेट १ अर्ब ४ करोड

आइतवार , आषाढ १०, २०८१

भैरहवा, ९ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार भैरहवामा आयोजित नगर सभाको १६ औं अधिवेशनमा नगरप्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले बजेट सार्वजनिक गरेका हुन् । 

नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, लक्षित वर्गको उत्थानमा विशेष जोड दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरी रु.१ अर्ब ४ करोड २५ लाख ५४ हजार बराबरको बजेट ल्याइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् । 

नगरपालिकाले चालु आ.व. भन्दा करिब ३० करोड बजेटको आकार घटाएर आगामी आ.व.का लागि बजेट ल्याएको छ ।

उपप्रमुख अधिकारीले आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट समानिकरण अनुदानमा रु. १८ करोड २८ लाख, ससर्त अनुदानबाट रु. २८ करोड १२ लाख ६७ हजार, समपुरक अनुदान रु. १ करोड ५० लाख, विशेष अनुदान रु. १ करोड ६० लाख, राजस्व बाँडफाँड ११ करोड ८ लाख १ रुपैयाँ र प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान रु. १ करोड ३० लाख ९२ हजार प्राप्त हुने बताइन् ।

त्यस्तै सशर्त अनुदान रु. १ करोड १० लाख ६२ हजार, समपुरक अनुदान रु. १ करोड ५ लाख, विशेष अनुदान रु. २० लाख, राजस्व बाँडफाड रु. ७७ लाख ९ हजार, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाडको रकम रु. ५ करोड ५० लाख, आन्तरिक राजस्व रु. २४ करोड ९५ लाख, अनुमानित बैंक मौज्दात रु. ८ करोड ७८ लाख २३ हजार ९ सय ९९ गरी नगरपालिकाले जम्मा रु. १ अर्ब ४ करोड २५ लाख ५४ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।

त्यस्तै नगरप्रमुख खाँले ‘कृषि पर्यटन, उद्योग व्यापार र शिक्षा ः हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने नगरपालिकाको दीर्घकालीन सोचलाई साकार पार्ने गरी नीति तथा कार्यक्रम तयार पारिएको बताए । नीति तथा कार्यक्रममा नगरपालिकामा सुशासन कायम, शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच, समावेशी विकास, कृषिको आधुनिकिकरण, सहकारी क्षेत्रको सुशासन, पर्यटन र उद्योग व्यापार क्षेत्रको विस्तार र विविधिकरण, दीगो विकास, वातावरण तथा पर्यावरणमा संरक्षण, पूर्वाधार निर्माण र सन्तुलित तथा गुणस्तरीय विकासलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी र जनसहभागीतामूलक बनाइने, भ्रष्टाचारमुक्त, छिटोछरितो सेवा प्रवाह, महिला सशक्तिकरण तथा लैंगिक न्यायको विकास, गरिबी निवारण, सन्तुलित वडाको विकास, सार्वजनिक सुनुवाई कार्यक्रम र जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यसै गरी नगरमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सार्वजनिक सडक र स्थानमा आवश्यकता अनुरुप सिसी क्यामेरा र एनपीआर प्रणाली जडान गरिने खाँले बताए ।

फोहोरमैला व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी नीति अवलम्बन गरिने, सवै वडामा अनिवार्य रुपमा टोल विकास संस्थाको गठन गरी परिचालन, सीपमूलक तथा स्वरोजगारमूलक तालिम, गरीब तथा विपन्न दलित, जनजाती, एकल तथा अपांग महिला, हिंसापीडित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विकास र सशक्तिकरण, कम्तीमा चारवटा वडामा मेलमिलाप केन्द्रको स्थापना, सबै वडामा कानूनी साक्षरता अभियान शिविर, सवै वडामा औषधि, उपकरण तथा प्रविधिसहितका स्वास्थ्य चौकी स्थापना गरिने, क्षयरोग कुष्ठरोग आदि सरुवा रोगको सर्ने माध्यम नियन्त्रणका उपाय तथा उपचार विधिवारे सचेतनामूलक कार्यक्रम टोलस्तरमै सञ्चालन गरिने जनाइएको छ ।

सामुदायिक छाडा कुकुरहरुको नियन्त्रणका लागि स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सीनेसन कार्यक्रमलाई निरन्तरता, आगमी आ.व.लाई कर सहभागीता वर्षको रुपमा मनाइने, नेपाल सरकार तथा एडीबी अन्र्तगत यु.आर.एल.आई परियोजना कार्यक्रमबाट सडक, फुटपाथ, डण्डा करिडोर लगायत कार्यक्रम गरिने, नगरलाई क्लिन, ग्रीन, एण्ड इको फ्रेन्डली सिटीको रुपमा विकास गर्ने नीतिलाई निरन्तरता लगायतका नीति तथा कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।