
आइतवार , आषाढ १०, २०८१
रुपन्देही, ९ असार । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आइतबार (आज) विज्ञप्ति जारी गर्दै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।
बाँकेकी काफ्ले समानुपातिक तर्फबाट सांसद् बनेकी हुन् । प्रत्यक्षबाट सांसद् बनेका दुईजनाले भने सरकारलाई समर्थन गरेका छन् । उनीहरु दुवै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) छन् । संसदीय दलका नेता भण्डारीलाल अहिले कृषिमन्त्री छन् ।
समर्थन फिर्ता लिएकी काफ्लेले जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएकी छन् । सोहीअनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तीमा उल्लेख छ ।
पार्टीका सांसद् अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । यद्यपि उक्त दलबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । जसपा नेपालले समर्थन फिर्ता लिए पनि वर्तमान सरकार अल्पमतमा पर्दैन । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद् भए पुग्छ ।
नेकपा (एमाले) को समर्थनमा नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका जोख बहादुर महरालाई १ सांसदले फिर्ता लिए पनि बहुमत कायम रहेको छ । एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जसपाका २, नेकपा (एकीकृत समाजवादी) का १ र १ जना स्वतन्त्र सांसद् गरी ४७ जनाको समर्थन अझै कायम छ ।
जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरले आफूहरु सरकारमै रहेको र निरन्तर साथ रहने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij