
बिहिवार , आषाढ ७, २०८१
काठमाडौँ, ६ असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी हुन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुत रहेको बताएकी हुन् । उनलेथप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पुरा हुने बताएकी हुन् ।
उनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् । उनले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने स्पष्ट पारेकी हुन् । मन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको भन्दै मलको अभाव नहुने बताएकी हुन् ।
मन्त्री साहले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि समयमै प्रक्रिया आरम्भ गर्नुपर्ने बताइन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij