२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सांसद शर्माको  ध्यानाकर्षण

मंगलवार , आषाढ ५, २०८१

  • 685
    Shares
  • 685
    Shares
  • काठमाडौं, असार ४। नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन।

    मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजि सुरक्षा कोषको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन। उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भनेपनि सरकारले आफ्नो दायित्व निर्वाह नगरेको बताए। उनले सरकारले तिरिदिनु पर्ने १ हजार १४ रुपैयाँ नछुट्याइएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

    उनले भने ‘बजेटमा सरकारले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षाको योजनामा आवद्ध गर्ने भनेको छ, तर म गम्भीर रुपमा प्रश्न पनि उठाउन चाहन्छु, आवद्ध गर्ने पनि भनिएको छ । तर त्यो सरकारले जम्मा गरिदिनु पर्ने १०१४ रुपैयाँको जुन योगदान गर्नुपर्ने हो, त्यसको लागि सरकारले पैसा छुट्याएको छैन । म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्ने भन्ने हाम्रो जे व्यवस्था छ र संविधानको धारा ३४ ले जे भन्छ, त्यो दिशामा सरकारले गम्भीर पहलकदमी गरोस् । नेपालका सबैखाले ट्रेड युनियनसँग संवाद गरिराखेर, सरोकारवालाहरुसँग सम्वाद गरिराखेर, इनार सफा गर्दागर्दै मर्नु नपर्ने यो देशमा अवस्था बनाउनका लागि सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद शर्माले अनौपचारिक क्षेत्रका श्रमिकहरुको आयको सुरक्षा, जीवनको सुरक्षा र सामाजिक सुरक्षा अलपत्र अवस्थामा रहेको बताए ।