२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थाल्यो : अर्थमन्त्री पुन

शनिवार , आषाढ २, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, १ असार ।
    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको दावी गरेका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले मुलुकको आर्थिक अवस्था क्रमश सुधार हुँदै गएको भन्दै बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको दावी गरेका हुन् ।

    मुलुकको आर्थिक समृद्धिका लागि सार्वजनिक, निजी तथा सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउने नीति सरकारले लिएको उनले बताए । अर्थमन्त्री पुनले कृत्रिम बौद्धिकताको विकासलाई मानव सभ्यता माथिको चुनौतीका रूपमा समेत हेर्न थालिएको भए पनि यसलाई औद्योगिक क्रान्तिको अर्को चरणका रूपमा लिइनुपर्नेमा जोड दिए ।

    उनले सूचना प्रविधिका क्षेत्रमा फड्को मार्न आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले महत्वाकांक्षी योजना अघि सारेको जानकारी दिए । सूचना प्रविधिका क्षेत्रमा अवको १० वर्षमा करिब ३० खर्बको निर्यात र १५ लाख जनशक्तिलाई रोजगारीको सम्भावना देखिएको उनको भनाइ छ ।

    त्यस्तै अर्थमन्त्री पुनले ५ वर्षसम्म करका नीति नफेर्ने, काठमाडौं उपत्यकाका कम्तीमा १० ठाउँ र प्रत्येक प्रदेशमा आइटी पार्क बनाएर ३ वर्षसम्म कुनै शुल्क नलिने योजना सरकारले बनाइरहेको जानकारी दिए । वस्तु तथा सेवाको उत्पादनमा सूचना प्रविधिको प्रयोगलाई औद्योगिक क्रान्तिको पाँचौं चरणका रुपमा लिने गरेको भन्दै उनले नेपालजस्ता मुलुकले यसलाई अवलम्बन गर्नुपर्ने धारणा राखे ।