
बिहिवार , श्रावण २२, २०७७
भैरहवा, २२ साउन ।
रुपन्देहीमा बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलन सुरु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको तथ्यांक संकलन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुभारम्भ भएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विवरण दर्ताका लागि कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखिएको जिल्ला प्रशासन कार्यालय रुपन्देही नागरिकता शाखाका नासु यज्ञ पोखरेलले जानकारी दिए । उनले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने जानकारी दिए ।
हालसम्म प्रशासन कार्यालयमा परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य शुभारम्भ भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको प्रजिअ पन्थले बताए । आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय परिचयपत्रका लागि एक करोड डाटा संकलन गर्ने सरकारको लक्ष्य रहेको उनले बताए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर र सिंहदरबारस्थित कर्मचारीलाई परिचयपत्र वितरण गरेको थियो ।
‘२०७६/०७७ को बजेट वक्तव्यमार्फत आगामी ४ वर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरिएको थियो, दोस्रो चरणमा १५ वटा जिल्ला तथा यसै आ.व.मा बाँकी सबै जिल्लामा सुरु हुनेछ, प्रजिअ पन्थले भने ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij