२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

तिनाउ गाउँपालिकामा सामुदायिक बीउ बैंकको सम्भाव्यता अध्ययन

बुधवार , जेठ १६, २०८१

  • 769
    Shares
  • 769
    Shares
  • भैरहवा, १६ जेठ ।
    पाल्पाको तिनाउ गाउँपालिकामा करिब २ महिनादेखि चलिरहेको रैथाने बालीको अभिलेखीकरण आइतबार दोभान माध्यमिक विद्यालयमा जैविक विविधता मेला गरी सम्पन्न गरिएको छ । ब्रिटिस काउन्सिल नेपाल र नेपाल युवा संजालको सहयोगमा सञ्चालित परियोजना कृषि पढ्ने भैरहवाका विद्यार्थीहरुले सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

    परियोजनाको मुख्य उद्देश्य जलवायु परिवर्तनका चुनौतीहरु सामना गर्न रैथाने बालीको भूमिका र त्यसको संरक्षणका लागी सामुदायिक बीउ बैंकको आवश्यकताबारे रहेको थियो ।
    परियोजनाले रैथाने बाली अभिलेखीकरणको आधारमा ‘इमेज बैंक’ बनाउने निर्णय गरेको छ । जसमा तिनाउमा पाइने रैथाने बाली र जातको जानकारी समेटिएको हुन्छ । 

    वैशाख १३ गते तिनाउ गाउँपालिकाको वडा नम्बर २, वैशाख १६ गते सोही पालिकाको ६ र ३, जेठ ३ गते वडा नम्बर २ र ५ र जेठ ५ गते वडा नम्बर ४ गरी ६ वटै वडामा किसानहरुमाझ सामुदायिक बीउ बैंक र रैथाने बाली लोप हुनुका खतराबारे तालिम र छलफलसहित रैथाने बीउहरु संकलन गरिएको थियो ।

    परियोजनाकी कार्य सदस्य, कृषि स्नातक उत्तीर्ण, रेखा पाण्डे भन्छिन्, ‘तिनाउ बुटवल बजारबाट नजिक, धानदेखि कोदो फापर उत्पादन हुने मौसम र तरकारीको पाकेट क्षेत्र रहेकोले यस गाउँपालिकामा प्रचलित लोपन्मुख रैथाने बालीको समयमै संरक्षण आवश्यकदेखि सामुदायिक बीउ बैंकको सम्भाव्यता अध्ययन गरेका हौं ।’

    अनुगमनका क्रममा किसानहरु तिनाउकै विशेषता बोकेका लद्युवाली आलु, झिनुवा धान, जर्नेली धान, पिडालु, काँक्रा, आदिलाई आजभोली हाईब्रिड बीउहरुले उछिनेको बताउँछन् । मस्याममा पाइने आँपजोते धान अहिले हराएर बीउ पनि भेटिन समस्या भएको तिनाउ गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्त शर्माले बताए । 

    यी बाली र जातलाई जोगाउन तिनाउमा सामुदायिक बीउ बैंक निर्माण जरुरी रहेको र त्यसका लागि आवश्यक भवन र अन्य सहयोग गर्न पालिकाको साथ रहेको पालिकाका उपाध्यक्ष लाल बहादुर थापाले बताए ।

    किसान, विद्यार्थी र स्थानीय प्रतिनिधिहरु लक्षित गरी दोभान मा.वि.मा जैविक विविधता मेलाबाट परियोजना समापन भएको थियो । मेलामा तिनाउकै विभिन्न ठाँउहरुबाट संकलन गरिएका वीउहरु प्रदर्शन गरी उपस्थित सम्पूर्णलार्ई रैथाने बालीलाई प्रवद्र्धन गर्न आग्रह गरिएको थियो ।