२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

एमाले सिद्धार्थनगर सचिवालयको विस्तारित बैठक सम्पन्न

बुधवार , जेठ १६, २०८१

भैरहवा, १६ जेठ ।
नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीको सचिवालयको विस्तारित बैठक सम्पन्न भएको छ । बुधबार बिहान भैरहवामा सम्पन्न बैठकले यही जेठ २३ र २४ गते हुने पार्टीको १० औं जिल्ला अधिवेशनलाई सफल बनाउन सम्पूर्ण पार्टी सदस्यहरुलाई आग्रह गरेको छ ।

जिल्ला अधिवेशनका लागि यही जेठ १८ गते अधिवेशन प्र्रतिनिधि छनौट गरिने एमाले सिद्धार्थनगर अध्यक्ष चक्र बहादुर थापाले बताए । अध्यक्ष थापाका अनुसार सिद्धार्थनगरका १३ वटै वडामा जेठ १८ गते बुधबार बिहान ११ बजे एकैपटक प्रतिनिधि छनौट गरिनेछ ।  

‘जिल्ला अधिवेशनका लागि यही जेठ १८ गते बिहान ११ बजे एकै समयमा जिल्लाका सबै वडामा प्रतिनिधि छनौट गरिनेछ, सोहीअनुसार सिद्धार्थनगरमा पनि १३ वटै वडामा प्रतिनिधि छनौट निर्वाचन संयोजकहरु तोकिएको छ, थापाले भने । ’ उनले जिल्ला अधिवेशन भैरहवा (सिद्धार्थनगर) मै हुने भएकाले यसलाई सफल बनाउन सिद्धार्थनगरका सम्पूर्ण पार्टी सदस्यहरुको भूमिका अझ महत्वपूर्ण रहेको बताए । १३ वटै वडाबाट ३३ जना तथा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु जिल्ला अधिवेशनको स्वतः प्रतिनिधि हुने भएकाले सिद्धार्थनगरबाट ४५ जना प्रतिनिधि अधिवेशनका लागि छनौट हुने उनले जानकारी दिए ।

बैठकमा सम्बोधन गर्दै प्रमुख अतिथि एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेलले आगामी २०८४ सालको निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी अघि बढ्ने बताए । उनले भने, ‘हाम्रो मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेससँग हो । यो कुरा हालै सम्पन्न उपनिर्वाचनको परिणामले पनि देखाएको छ । त्यसैले अब २०८४ मा एकल बहुमत ल्याएर एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ ।’

त्यस्तै एमाले रुपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले जिल्ला अधिवेशनलाई भव्य, अनुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । उनले यही जेठ २३ गते बुधबार दिउँसो १ बजे एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटीका पूर्व सदस्य राजेन्द्र प्रसाद पन्थी, रुपन्देही जिल्ला सचिवालय सदस्य प्रेम कुमार सेन्चुरी लगायतले बोलेका थिए ।

एमाले नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अर्जुन कुमार गिरीको स्वागत तथा उपसचिव माया कंडेलको सञ्चालनमा बैठक सम्पन्न भएको पार्टीका सिद्धार्थनगर उपसचिव तथा वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङले बताए ।

IMG_0833.JPG