
बुधवार , जेठ ९, २०८१
भैरहवा, ९ जेठ ।
२५६८ औं बुद्धजयन्तीको पूर्व संध्यामा सिद्धार्थ सञ्जाल, रुपन्देहीले दीप प्रज्वजलन गरेको छ । सञ्जालले बुधबार साँझ भैरहवास्थित बुद्धचोकमा दीप प्रज्जवलन गरेको महासचिव संजय बजिमयले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिका गौतमबुद्धको नामबाट नामाकरण गरिएको बताइन् । उनले भनिन्, ‘सिद्धार्थनगर नगरपालिकाको भविष्य कता गइरहेको छ गहन छलफल जरुरी छ । हाम्रा छोराछोरीको भविष्यका लागि हामीले गर्ने सम्पूर्ण गतिविधि राम्रो हुनुपर्छ । नगरपालिकाको विकासका लागि राम्रो सुझाव दिने सम्पूर्ण टीमलाई धन्यवाद दिन चाहन्छु ।’
सिद्धार्थ सञ्जालका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बुद्धजयन्तीको पूर्व संध्यामा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर (भैरहवा) मा दीप प्रज्जवलन गरिएको बताए । उनले प्रत्येक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । उनले गौतमबुद्धले लुम्बिनीबाट शान्तिको सन्देश फैलाउने काम गरेकाले लुम्बिनीको विकास आवश्यक रहेकोमा जोड दिए । उनले यस्ता कार्यक्रमले लुम्बिनीको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘धेरै भन्दा धेरै पर्यटक भित्र्याएर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सकिन्छ । अहिलेको समयमा हामीले पर्यटन क्षेत्रको विकासमा नै जोड दिनुपर्छ ।’
दीप प्रज्जवलन कार्यक्रममा सञ्जालका सह–कोषाध्यक्ष मधु प्रसाद पन्थी, कार्यसमिति सदस्य हरिष सेठियालगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij