२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रधानमन्त्री प्रचण्डले पाए चौथौपटक विश्वासको मत

सोमवार , जेठ ७, २०८१

काठमाडौं, ७ जेठ । बिपक्षी दलको नारावाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगाएत बिपक्षी सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री प्रचण्डको पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो ।

विश्वासको मत प्रक्रियामा  एक सय ५८ सांसद सहभागी हुनुभएको सभामुख घिमिरेले जानकारी गराए । सभामुखले प्रधानमन्त्रीलाई प्राप्त मत संसदको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । 

प्रतिनिधिसभाको वर्तमान कार्यकालमा प्रधानमन्त्री प्रचण्डले चौथौपटक विश्वासको मत प्राप्त गरे । सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर बिपक्षी दलले संसद् बैठकमा नारावाजी गर्दै आएको छ ।