
सोमवार , फाल्गुण १०, २०७७
भैरहवा, १० फागुन ।
पक्लिहवा क्याम्पसको हाताभित्र रहेको भेटेरीनरी शिक्षण अस्पताल (पशुु शिक्षण अस्पताल) को पूर्ण संरचना तयार भइ सञ्चालन नभएसम्म अस्पताल र यसको युुुनिट, एक्सटेन्सन, कम्युनिटी आउटरिच प्रोग्राम आदिको नाममा कुनै ठाउँमा निर्माण नगर्ने/नगराउने सहमति भएको छ । सोमबार क्याम्पस प्रशासन, स्थानीय जनप्रतिनिधि र नयाँगाउँ रानीगाउँ दुर्गा मन्दिर समाजबीच ३ बुंदे सहमति भएको हो ।
त्यस्तै पक्लिहवा क्याम्पसको हाताभित्र नै भेटेरीनरी शिक्षण अस्पताल (पशुुुु शिक्षण अस्पताल)को नयाँ संरचना बनाउने गरी सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी आजको मितिबाट १८ महिनाभित्र निर्माण कार्यको थालनी गर्ने सहमति भएको संघर्ष समितिका संयोजक सुशील गुरुङले बताए ।
त्यस्तै अब उप्रान्त पक्लिहवा क्याम्पसको विकास, संवद्र्धन, संरक्षण र शैक्षिक वातावरणलाई प्रभावकारी बनाउन स्थानीय सरकार, स्थानीय सरोकार राख्ने पक्षहरुको प्रत्यक्ष सहभागितामा त्रिभुवन विश्वविद्यालय विकेन्द्रीकरण नियमानुसार ‘व्यवस्थापन समिति’ गठन गरिने सहमतिपत्रमा उल्लेख छ ।
सहमति–पत्रमा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक डा. राम भजन मण्डल, भेटेरीनरी शिक्षण अस्पतालका सह–प्राध्यापक डा. कृष्ण काफ्ले, नयाँगाउँ रानीगाउँ दुर्गा मन्दिर समाजका अध्यक्ष खुशीमान गुरुङ र सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्लले हस्ताक्षर गरेका छन् ।
भेटेरीनरी शिक्षण अस्पताल अन्यन्त्र सार्न लागिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । उनीहरुले क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गर्नुका साथै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij