२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

एमाले रुपन्देहीको अधिवेशन सर्‍यो, जेठ २३ र २४ गते हुने

बिहिवार , जेठ ३, २०८१

  • 865
    Shares
  • 865
    Shares
  • भैरहवा, ३ जेठ ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, रुपन्देहीको अधिवेशन सरेको छ । यसअघि जेठ १६ र १७ गते तय भएको जिल्ला अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेकाले जेठ २३ र २४ गतेका लागि सारिएको हो । एमाले रुपन्देहीका उपसचिव तथा जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले पार्टीका अध्यक्षको समय नमिलेको र अन्य कार्यक्रम पनि जुधेकाले अधिवेशनको समय सारिएको बताए । उनले अधिवेशनको मिति सरेकाले प्रतिनिधि छनौटको समय पनि सर्ने जानकारी दिए। 

    एमाले रुपन्देहीमा नेतृत्वको लागि अहिलेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिवद्वय चित्र बहादुर कार्की र हितराज पन्थीले दावेदारी पेश गरेका छन् । वर्तमान अध्यक्ष तेजेन्द्र के.सी.ले पुनः दोहोरिने गरी तयारी गरेको बताए ।

    ‘मेरो नेतृत्वमा पूरै समय काम गर्न पाइएन, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा बलियो गठबन्धनविरुद्ध राम्रो नतिजा निकाल्न सकियो, त्यही भएकै कारण पुनः दोहोरिने तयारीमा छु’, के.सी.ले भने ।

    अध्यक्षका अर्का दावेदार तथा वर्तमान सचिव गैरेले भने, ‘पार्टीमा निरन्तर काम गरेपछि नेतृत्वको अपेक्षा स्वभाविक हो, अध्यक्षपछि उपाध्यक्ष आकांक्षी नभएपछि सचिवको पालो स्वभाविक हो, त्यहीअनुसार मैले तयारी गरेको छु ।’

    अर्को दावेदार चित्र बहादुर कार्कीले स्थानीय तहको अनुभव र पार्टीमा लामो समय गरेको त्यागका कारण नेतृत्वको दावेदार भएको बताएका छन् । उनी सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) हुन् । त्यसै गरी अहिले जिल्ला प्रचार विभाग प्रमुख समेत रहेका उपसचिव हितराज पन्थीले समकालीनमध्ये आफू सबैभन्दा पुरानो र भूगोलका हिसाबले दक्षिणी क्षेत्रमा लामो समय योगदान गरेकाले पनि पार्टी नेतृत्वको दावेदारी गरेको बताए ।

    नेतृत्वको विषयमा ४ जनाको दावेदारी रहे पनि अन्य पदमा धेरै दावेदारी सार्वजनिक भएको छैन । तर सचिवमा बाबुराम पन्थी र युवराज घिमिरेले तयारी गरेका छन् भने उपसचिवका लागि धेरै जनाले आकांक्षा राखेका छन् ।

    एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्य तथा पूर्व मुख्यमन्त्री लिला गिरी, पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, दधिराम न्यौपानेसहितका नेताहरुको गृह जिल्ला पनि भएकाले रुपन्देहीको पार्टी नेतृत्वलाई विशेष चासोका साथ हेरिएको छ ।