२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसदमा अवरोध कायमै राख्ने

सोमवार , बैशाख ३१, २०८१

  • 466
    Shares
  • 466
    Shares
  • काठमाडौं, ३१ बैशाख । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ ।

    सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको बटमलाईन रहेकाले संसदीय समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने निर्णय भएको बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिए । उनले समिति नबनेसम्म सरकारको नीति तथा कार्यक्रम वा अरू जे भए पनि संसद् अगाडि बढ्न नदिने बताए । प्रवक्ता महतले यसबारे मंगलबार बस्ने पार्टीको संसदीय दलको बैठकले थप निर्णय गर्ने जानकारी दिए ।

    उनले प्रतिपक्षले राखेको जायज माग सम्बोधन गर्न सरकार गम्भिर नभएको आरोप लगाए । प्रवक्ता महतले सहकारीको बचत अपचलनमा गृहमन्त्री आफै समिति बनाउन तयार भएको देखिएपनि एमाले अध्यक्ष केपी ओली बचाउमा उत्रिएको देख्दा उनको पनि धेरै ठूलो संलग्नता छ कि भन्ने आशंका गर्न सकिने ठाउँ रहेको बताए । सहकारीमा सबैभन्दा ज्यादा एमालेको प्रभुत्व रहेको भन्दै उनले आफ्नो दल र कार्यकर्ता कसैको सहकारी अपचलनमा संलग्नता नभएको दाबी गरे । उनले यदि कसैको संलग्नता रहे छानबिन गरेर कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरे ।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।