२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भन्सार परिसरमा भारतीय चालक लक्षित ट्राफिक प्रहरीको ‘सम्झाई–बुझाई’ अभियान

शनिवार , बैशाख २९, २०८१

भैरहवा, २९ वैशाख ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले भारतीय मालबाहक सवारीसाधनलाई लक्षित गरी साप्ताहिक ‘सम्झाई–बुझाई’ अभियान सुरु गरेको छ । भैरहवा भन्सार कार्यालय परिसरभित्र उक्त अभियान सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले नेपाल भित्रिने मालबाहक सवारीलाई भन्सार परिसरमै विभिन्न नियमबारे जानकारी गराइँदै आएको जनाए ।

शुक्रबारबाट सुरु अभियान एक हप्तासम्म सञ्चालन हुनेछ । अभियानका क्रममा भन्सार परिसरमा भारतीय सवारीचालकलाई जम्मा गरेर लेन अनुशासन, ओभरट्याक गर्ने तरिका, बाटो क्रस गर्ने तरिका लगायत ट्राफिक नियमबारे जानकारी गराइनेछ । यसक्रममा कति चक्के गाडीले नेपालमा कतिसम्म सामान बोक्न पाउँछन् भन्नेबारे पनि बुझाइनेछ । 

‘धेरै भारतीय मालबाहक सवारीचालक र सह–चालकलाई नेपालको ट्राफिक नियमबारे जानकारी छैन, कतिपय जानकारी भएकाले पनि नियमको बेवास्ता गर्ने गर्छन्, यसले दुर्घटना लगायतका समस्या निम्तिने गरेका छन्’, प्रहरी निरीक्षक विष्टले भने, ‘हामीले यसबारे जानकारी गराइरहेका छौं । हाम्रो अभियानले भोलिका दिनमा भारतीय गाडीबाट नियम उल्लघंन नहुने विश्वास छ ।’

ट्राफिक प्रहरीले भारतीय सवारी लक्षित अभियान थालेकाले धेरै सवारीचालक पनि खुशी छन् । नेपालको नियम, कानून बुझ्न र सिक्न पाउँदा आगामी दिनमा गन्तव्यमा पुग्ने क्रममा सहजता हुने भारतीय सवारीचालकको भनाइ छ । ‘कहिलेकांही नियम नबुझ्दा पनि भारतीय सवारीहरुले नेपालमा आएका दुःख पाउने गरेका छन्, यसैले विशुद्ध भारतीय सवारी लक्षित अभियान थालिएको हो’, विष्टले भने ।

भारतीय सवारीचालकलाई लक्षित गरी सीमा क्षेत्र र सडकका विभिन्न ठाउँमा हिन्दी भाषामा पनि ट्राफिक सचेतनाका बोर्डहरु राखिएको छ । अहिले भन्सार परिसरमा दैनिक भारतीय सवारी चालकलाई एकठाउँमा गराई अभिमुखीकरणसहित सम्झाईबुझाई गर्ने काम भइरहेको छ । दुई दिनमा भारतीय नम्बर प्लेटका करिब २ सय सानाठूला सवारीका चालक र सह–चालकलाई ट्राफिक नियमबारे सम्झाईबुझाई गरिएको छ । एक हप्तामा १ हजार बढी चालक–सह–चालक यो अभियानमा जोडिने ट्राफिकको अपेक्षा छ । ‘यसले भोलिका दिनमा भारतीय सवारी चालकहरुको अनुशासनलाई थप अभिबृद्धि गर्ने हाम्रो अपेक्षा छ’, विष्टले भने । ट्राफिक प्रहरीले यसअघि विभिन्न चरणमा साप्ताहिक अभियान मार्फत् जिल्लाका विभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

पछिल्लो समय ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरण र लेन अनुशासन तथा सचेतना अभिवृद्धिका कार्यक्रम निरन्तर गर्दै आइरहेको छ । राडर गनमार्फत सवारीको गति मापन, क्याम्पस, विद्यालय, सामाजिक संघ–संस्था, चालक, सह–चालकलाई सचेतना र ट्राफिक नियमबारे अभिमुखीकरण लगायतका कार्य गरिरहेको जनाइएको छ ।