२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

शुक्रवार , बैशाख २८, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • बुटवल, २८ वैशाख । 
    नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई समितिले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । यही मे १२ का दिने मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित गरी बुटवल–११ स्थित शहरी स्वास्थ्य केन्द्रमा बिहीबार आयोजित शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको पहिचान सम्बन्धी परीक्षण गरिएको हो । 

    स्वास्थ्य शिविरमा १६१ जना महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि रोगको पहिचानका लागि स्क्रिनिङ गरिएको लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ विभाग प्रमुख ज्योती पौडेलले जानकारी दिइन् । सो क्रममा १० जना महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुन सक्ने लक्षण देखा परेको थियो भने ३ जना महिलामा स्तन क्यान्सर हुन सक्ने लक्षण देखा परेको नर्सिङ प्रमुख पौडेलले जानकारी दिइन् । 

    लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. अनिता पुन र वरिष्ठ स्तन क्यान्सर रोग विशेषज्ञ डा. संजय पाण्डेसहित नर्सिङ स्टाफहरुको सहभागीतामा शिविर गरिएको थियो । शिविरमा निःशुल्क औषधी वितरण, परामर्श तथा थप उपचारका लागि आवश्यक प्रक्रियाबारे सेवा प्रदान गरिएको थियो ।  

    बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको शिविरमा वडा नम्बर ९ र ११ का महिलाहरुलाई लक्षित गरी शिविर सम्पन्न गरिएको हो । 

    सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सेवा र पूर्वाधारका हिसाबले सम्पन्न बनाउनुपर्नेमा जोड दिए । उपमहानगरले शहरी स्वास्थ्य केन्द्रहरुमार्फत जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै ‘जेष्ठ नागरिकहरुसँग नगरप्रमुख’ कार्यक्रमबाट पनि उनीहरुलाई घरमै पुगेर स्वास्थ्य लगायतका सेवा प्रदान गर्दै आएको उनले जानकारी गराए । 

    त्यसै गरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापाले स्वाथ्य सेवामा नर्सिङ स्टाफहरुको भूमिकाबारे चर्चा गर्दै दिवसलाई पनि सेवा गरेरै मनाउनु सकारात्मक भएको उल्लेख गरे । कार्यक्रम लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघ बुटवल इकाई कमिटी अध्यक्ष कुमारी हरि केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।