भैरहवा, २७ वैशाख ।
चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का बिहीबार भएका दुई खेलमा वीरगंज ब्लास्टर र लुम्बिनी लायन्स विजयी भएका छन् । वीरगंजले नेपालगंज वारियर्सलाई ९ विकेट र लुम्बिनीले शिवम् वारियर्स हेटौंडालाई ८ विकेटले पराजित गर्दै जीत निकालेका हुन् । लुम्बिनीको यो लगातार दोस्रो जीत हो भने वीरगंजको पहिलो जीत हो ।
नेपाल राष्ट्रिय मारवाडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भइरहेको प्रतियोगितामा बिहीबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालगंजले निर्धारित २० ओभरको खेलमा १० ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै जम्मा ५० रनको झिनो स्कोर खडा गर्यो । उसका लागि शिनु अग्रवालले १७ तथा प्रशान्त मुनधारा र निखिल अग्रवालले समान १०–१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा टीम सस्तैमा रोकियो । उसलाई झिनो स्कोरमा रोक्न बलिङमा वीरगंजका सुरज जोशीले ४ तथा केयल र पियुस शर्माले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको वीरगंज ४ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ५१ रन बनाउँदै सानदार जीत निकाल्यो । उसका लागि सुमित कदमियाले अविजित सर्वाधिक ३४ रन बनाए । बलिङमा नेपालगंजका अभी अग्रवालले १ विकेट लिए । खेलमा सुरज जोशी प्लेयर अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शिवमले १६ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाएर जम्मा ५४ रन मात्रै बनायो । उसका लागि दिवेश शर्माले १५ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनीका दिनेश अग्रवालले ४, शुभम अग्रवालले ३, दामोदर शर्माले २ र सोमेस अग्रवालले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५ ओभर ६ बलमा २ विकेटको नोक्सानीमा ५६ रन बनाउँदै सहजै जीत दर्ज गर्यो । उसको जीतमा शुभम अग्रवालले सर्वाधिक २७ रनको योगदान दिए । बलिङमा शिवम् वारियर्स हेटौंडाका आर्यन अग्रवालले २ विकेट लिए ।
खेलमा शुभम अग्रवाल म्यान अफ द म्याच भए । प्रतियोगितामा १४ वटा टीम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरु विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौंमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोज कुमार अग्रवालले जानकारी दिए ।