
आइतवार , फाल्गुण ९, २०७७
काठमाडौं, ९ फागुन ।
भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोप कोभिशिल्डको १० लाख डोज काठमाडौं आइपुगेको छ ।
भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विमानस्थल आएको खोपलाई टेकुस्थित चिस्यान केन्द्रमा लगेर भण्डारण गरिने मन्त्रालयले जनाएको छ ।
सरकारले गत ५ गते बुधबार खोप उत्पादन कम्पनी सेरम इन्ष्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो ।
सम्झौता अनुसार आज १० लाख डोज खोप नेपाल आएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दोस्रो चरणमा आएको खोप जेष्ठ नागरिक तथा दीर्घ रोगीलाई लगाइनेछ । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप १० लाख डोज नेपाल आएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij