
आइतवार , फाल्गुण ९, २०७७
काठमाडौं, ९ फागुन। भारतमा उत्पादित कोभिड १९ विरुद्धको खोप कोभिशिल्डको १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ।
भारतको नयाँ दिल्लीबाट आज १ः३० को एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ ल्याउने तयारी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।
प्रबक्ता गौतमका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति भएअनुसार आज १० लाख डोज खोप ल्याउन लागिएको हा।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप १० लाख डोज नेपाल आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारी लगाएतलाई लगाइँदैछ। मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा लगेर भण्डारण गरिने छ।
उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ। खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने डा. अधिकारीले बताएका छन्।
सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी पनि डा. अधिकारीले दिएका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij