भैरहवा, १८ वैशाख ।
मोबाइल व्यवसायी संगठन रुपन्देहीले आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । संगठनले मंगलबार रोहिणी गाउँपालिकाका आगलागी पीडितहरुलाई भाडाकुडा तथा लत्ताकपडा प्रदान गरेको हो ।
आगलागीका कारण नागरिक अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएकाले केही भए पनि सहयोग पुगोस् भनेर राहत सामग्री वितरण गरिएको संगठनका अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.) ले बताए । उनले भने, ‘धेरै ठूलो सहयोग त गर्न सकेका छैनौ । तर, आफ्नो क्षमताअनुसार मोबाइल व्यवसायीले सहयोग गर्ने चाहना राखेर पीडितको घरदैलोमा पुगेका हौं । हरेक दुःखकष्टमा साथ छौं । थप सहयोगको पहल गर्छौं ।’ मंगलबार २० घरपरिवारलाई राहत वितरण गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा मोबाइल व्यवसायी संगठन, रुपन्देहीका पदाधिकारी, रोहिणी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी, जिल्ला समन्वय समिति रुपन्देहीका निवर्तमान उपप्रमुख पशुपति यादवलगायतको उपस्थिति रहेको थियो ।
गत वैशाख ८ गते शनिबार रोहिणी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा आगलागी भइ ५० वटा बढी घरमा क्षति पुगेको थियो ।