भैरहवा, १० वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि वडाअध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा आम सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले संयुक्त प्रयासबाटै रोहिणीको शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक रुपमा अघि बढ्दै आएको बताए । उनले सबैको जवाफदेहीता आवश्यक रहेकेमा जोड दिए । उनले भने, ‘सुधारको प्रयास एक्लै हुँदैन । तर, पहिला आफूबाट सुरु गरौं । नैतिकता, इमान्दारिता र जवाफदेहिता आवश्यक छ । ’
गाउँपालिकाका शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले गत शैक्षिक सत्रमा योग्यता पुगेका शिक्षकहरुलाई प्रधानाध्यापकको रुपमा पठाइएको बताए । उनले सबैको सल्लाह सुझाव लिदै अगाडि बढ्नुपर्ने भन्दै संयुक्त प्रयासबाटै रोहिणीको शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए । उनले भने, ‘रोहिणीको नतिजा जिल्लामै राम्रो बनाउन संयुक्त प्रयास आवश्यक छ । ’
जनमत पार्टीका नेता शम्भु प्रसाद यादवले ठूलो लक्ष्य लिएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले शिक्षकको प्रगति रिपोर्ट हरेक विद्यालयले त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्ने सुझाव दिए । नेकपा (माओवादी केन्द्र) का नेता ओमप्रकाश गुप्ताले एउटै कक्षामा धेरै विद्यार्थी राखेर पढाउन नहुने बताए । उनले विद्यालयमा राजनीति गर्न नहुने बताए । श्री पशुपति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले विद्यालयको विकासका लागि सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताए । उनले समस्या पहिचान गरेर निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
श्री पोखरभिण्डी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा कोहारले अभिभावकलाई जागरुक बनाउनुपर्ने बताए । उनले ठूला भाषण र सरकारको प्रयासबाट मात्र शिक्षाको गुणस्तर सुधार हुन नसक्ने बताए ।
छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले शिक्षक हेरफेर गरेर मात्र भएर शिक्षाको गुणस्तर सुधार नभएको बताए ।
नेकपा (माओवादी केन्द्र) रुपन्देहीका जिल्ला सदस्य खुर्सीद आलमले अभिभावकको पहिलो प्राथमिकतामा शिक्षा पर्नुपर्ने बताए ।
जनमत पार्टीका नेता योगेन्द्र चौधरीले विद्यालय व्यवस्थापन समितिले अभिभावक र शिक्षकलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।
छिपागढ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेराज अहमद खाँले सबैले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
रोहिणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अनान अहमद भाटले विद्यार्थी टिकाउन लाग्नुपर्ने बताए ।
जनमत पार्टीका नेता विष्णु चौधरीले सबैले आ–आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह नगरेसम्म शैक्षिक गुणस्तर सुधार हुन नसक्ने बताए ।
नेकपा (एमाले) का नेता संजय कुमार गुप्ताले शैक्षिक गुणस्तर सुधारका लागि अनुशासन पनि महत्वपूर्ण पाटो भएको बताए ।
रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले शैक्षिक गुणस्तर सुधारका लागि कुराले मात्र नहुने भएकाले अब कठोर बन्नैपर्ने बताए ।
गाउँपालिकाका शिक्षा समिति सदस्य मनोज कुमार यादवले विद्यालय व्यवस्थापन समिति र अभिभावकबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका नेता अकबाल खाँले विषयगत रुपमा राम्रो नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अलीले राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्ने बताए । उनले सबैलाई समान रुपमा हेर्नुपर्ने बताए । रोहिणी गाउँपालिका–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले विद्यालयको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले विद्यालयले बेलाबेलामा अभिभावक भेला तथा बैठक राख्नुपर्ने बताए । उनले पालिकाको शिक्षामा कम लगानी नरहेको स्पष्ट पारे । गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले शैक्षिक गुणस्तर सुधार तथा बालबालिकाको भविष्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गैरजिम्मेवार रुपमा अरुलाई मात्र दोष दिएर नहुने बताए । उनले कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘अरुको तुलना गरेर मात्र हुँदैन । हामीलै कसैप्रति पूर्वाग्रह राखेका छैनौ । ’ उनले अघिल्लो वर्ष रोहिणी अन्तर्गत विद्यालयका प्रधानाध्यापक हेरफर गरिएको बताए ।
सरोकारवालाको प्रतिवद्धतासहितको हस्ताक्षर
यसैबीच रोहिणी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । उनीहरुले १८ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् ।