भैरहवा, १० वैशाख ।
सशस्त्र प्रहरीले रुपन्देहीको भैरहवाबाट ५० लाख मूल्य बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले अवैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित दोगहरा क्षेत्रमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याएर बाँसको छाप्रोमा भण्डारण गरिएको राखिएको सामान बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेले बताए । ग १ ख ९२२६ नम्बरको २.५ टाटा आईसर गाडीमा लोड गरिरहेको अवस्थामा ५ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १० हजार ४ सय के.जी. प्याज बरामद गरिएको डीएसपी न्यौपानेले जानकारी दिए ।
त्यस्तै ४५ लाख रुपैयाँ मूल्य बराबरको २.५ टाटा आईसर गाडी र १० हजार रुपैयाँ बराबरको बोरा सिलाउने मेसिन गरी ५० लाख ३० हजार बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।