images

शनिवार, बैशाख २२ गते २०८१

स्वास्थ्य मन्त्रीबाट लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण

स्वास्थ्य मन्त्रीबाट लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण

images
images
images
आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • स्वास्थ्य मन्त्रीबाट लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण

    बुटवल, ९ वैशाख । 
    लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले कार्यभार सम्हालेपछि पहिलोपटक रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणमा पुगेका छन् । अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भइरहेका कार्यप्रगति बारे बुझ्न मन्त्री पुन आइतबार बिहान स्थलगत अवलोकनमा पुगेका हुन् । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको भवन निर्माणका लागि अहिले पुरानो संरचना हटाएर जग निर्माणको काम भइरहेको छ । 

    images
    images
    images

    अस्पतालको निर्माणस्थल तथा अस्पतालमा हाल सञ्चालनमा रहेका सेवाहरुको अवलोकन गर्दै मन्त्री पुनले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालको नयाँ भवन निर्माणको कामलाई गुणस्तरीय र समयमै सक्नका आवश्यक निगरानी गर्ने उल्लेख गरे । बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै पुनले सोही योजना अनुसार नै लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रुपमा स्तरोन्नतीका लागि संरचना निर्माणको काम सुरु भएको उल्लेख गरे । 

    तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको योजना अनुसार बुटवललाई छनोट गरी गौरवको आयोजना सुरु गरिएको स्मरण गर्दै पुनःले यस क्षेत्रलाई स्वास्थ्यको हब बनाउने दावी गरेका हुन् । 

    अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबाट गुनासा तथा सुझाव माग गरेपछि सम्बोधन गर्दै मन्त्री पुनले सेवाग्राहीको चाप, जनशक्ति व्यवस्थापन र उपकरण लगायतमा तालमेल नभएको विषयमा मन्त्रालयले छलफल अघि बढाउने प्रतिवद्धता गरे । अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन तथा उपकरण व्यवस्थापनमा मन्त्रालयले सहयोगको प्रतिवद्धता गरे । 

    स्वास्थ्यमन्त्री पुनले चिकित्सा तथा स्वास्थ्य पेसा मर्यादित पेशा भएका कारण यसको साखलाई कायम राख्न मन्त्रालय तयार रहेको बताए । त्यसै गरी सेवा प्रदान गर्ने विषयमा चिकित्सक तथा कर्मचारीले राम्रो गरेमा सम्मान गर्ने र गलत गरेमा निगरानी तथा कारवाहीको चेतावनी समेत दिए । 

    अस्पतालमा निरीक्षणमा लुम्बिनी प्रदेश सामाजिक विकास समितिका सभापति ओमबहादुर नेपालीको समेत सहभागीता रहेको थियो । अस्पतालमा मुख्यमन्त्री पुनलाई माला लगाएर स्वागत गर्दै मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापाले सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयले सहयोगको अपेक्षा गरे । जनशक्ति, उपकरण तथा स्रोतसाधनको तुलनामा ठूलो जनसंख्यालाई सेवा प्रदान गर्नुपर्ने भएकाले जनताबाट गुनासाहरु सुनिरहनुपर्ने बाध्यता रहेको डा. थापाले गुनासो गरे । 

    अस्पतालमा विगत केही महिनादेखि ल्याप्रोस्कोपी मेशिन बिग्रिएको अवस्थामा भए पनि बजेट अभावले बनाउन नसकिएको उनले गुनासो गरे । उपकरण अभावमा सेवा प्रवाह पनि ढिलो हुने भएकाले बिरामीले शल्यक्रिया (अपरेशन) का लागि समेत एक डेढ वर्षसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्री पुनःसँग आग्रह गरे । ‘हामीले राम्रो गर्ने प्रयास गर्दागर्दै पनि उपकरण अभावले समस्या छ । बिग्रिएको एउटा ल्याप्रोस्कोपी मेशिन पनि बनाउन सकिएको छैन । अझै ४ वटा मेशिन थप गर्ने हो भने पनि सेवाग्राहीले १ वर्ष पालो कुर्नुुपर्ने समस्या एक चौथाइमा घट्ने छ ।’–मेसु डा. थापाले भने । त्यसै गरी संघीय सरकारबाट बीमा रकम समयमा भुक्तानी नहुँदा थप आर्थिक भारमा परेको उनले गुनासो गरे । ‘गत भदौदेखि करिब १५/१६ करोड पाउन बाँकी नै छ । यसले गर्दा सेवा खस्किने हो कि भन्ने डर हामीलाई लागेको छ ।’–डा. थापाले भने, ‘अब अर्को भदौ पनि आउन लाग्यो यसका लागि सरकारको ध्यानाकर्षण होस् ।’ 

    त्यसै गरी अस्पतालका व्यवसायीक सटर भत्काएपछि प्रदेश सरकारले वार्षिक ६ करोड अनुदान दिने भने पनि कार्यन्वयन नभएको गुनासो गरे । सुरुका २ वर्षसम्म अस्पताललाई रकम आएको भएपनि त्यसपछि सटर भत्काएवापत आउनुपर्नेमा रोकिएको डा. थापाले गुनसो गरे । 

    मन्त्री पुनको निरीक्षणपछि आयोजित अन्तरक्रियामा अस्पतालकी वरिष्ठ दाँत रोग विशेषज्ञ डा. वर्षा थापा, नर्सिङ प्रमुख ज्योती पौडेल, ओटी पोष्टअप इञ्चार्ज सीता खनाल, डट्स इञ्चार्ज विनोद पाण्डे लगायतले गुनासो तथा सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रम अस्पतालका प्रशासकीय प्रमुख राजन के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो । 

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij