२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनीका ७ मन्त्रीले लिए शपथ

बिहिवार , बैशाख ६, २०८१

बुटवल, ६ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् । 

मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार नेकपा एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी) की भगवती अधिकारी घिमिरे र स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतलाई मन्त्री नियुक्त गरेका हुन् । ७ जनाले विनाविभागीय मन्त्रीको रुपमा सपथग्रहण गरेका छन् ।

चैत्र २३ गते नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र एकजना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए । 

मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।  तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो ।

जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । यसअघि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी र एमालेका लीला गिरी मुख्यमन्त्री हुँदा १० सदस्यीय मन्त्रिपरिषद् थियो ।