२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

‘उपचारमा ध्यान नदिदा धेरै नागरिकमा आँखासम्बन्धी रोगको समस्या’

सोमवार , बैशाख ३, २०८१

  • 796
    Shares
  • 796
    Shares
  • तिलोत्तमा, ३ वैशाख । 
    शरीरका अन्य अंग भन्दा निकै संवेदनशील मानिने आँखाको उपचारमा ध्यान नदिदा धेरै नागरिकले आँखासम्बन्धी रोगको समस्या भएको सरोकारवालाले बताएका छन् । आँखाको ज्योति गुमेकालाई मात्र आँखाको महत्व थाहा हुने भन्दै उनीहरुले आँखाको स्याहारसुसारमा ध्यान दिन उनीहरुले सुझाव दिएका छन् ।

    शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४, रुपन्देहीले सामाजिक उत्तरदायित्व अन्तर्गत समूहका पार्षदहरुका लागि सोमबार समूहको कार्यालयमा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण (आँखाको चेकजाँच) कार्यक्रममा बोल्दै उनीहरुले आँखा रोगको उपचारले मात्र मानिसलाई अन्धकारबाट जोगाउने बताए ।

    कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आँखाको दृष्टि राम्रो राख्न घर वरिपरिको वातावरण हरियाली बनाउन सुझाव दिदै यसका लागि सबैले आफ्नो जन्मदिन तथा विशेष अवसरमा विरुवा रोप्नुपर्नेमा जोड दिए । सबैले विरुवा रोपेमा गाउँटोल हरियाली हुने, यसले वातावरणलाई स्वच्छ वनाउने र स्वच्छ वातावरणले मानव जीवन स्वस्थ हुने भएकाले यसलाई आफ्नो जीवन पद्दति र संस्कारसँग जोडेर हरियाली प्रवद्र्धन गर्नुपर्नेमा नगरप्रमुख खाणले बताए ।

    श्रीकृष्ण नेत्रालय भैरहवाका नेत्ररोग विशेषज्ञ डा. सल्मा केसी राईले आँखा मानव शरीरको महत्वपूर्ण अंग भए पनि आँखाको स्वास्थ्यप्रति संवेदनशील नहुँदा धेरै मानिस आँखासम्बन्धी रोगबाट ग्रसित भएको बताइन् । मधुमेह, उच्च रक्तचाप जस्ता रोगका कारण पनि आँखाको दृष्टि गुम्न सक्ने भएकाले आँखा जाँचमा ध्यान दिन उनले आग्रह गरिन् ।

    आँखाको स्वास्थ्यका लागि हरियो सागपात, सुन्तला, कागती, गाजर, अंगुर, मेवालगायतका फलफूलबाट भिटामिन ए, सी, फोलिक एसिड, सेलेमियम र जिंक जस्ता तत्व प्राप्त ह्ने भएकाले सेवन गर्न र आँखामा असहज महसुस भए चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न डा. सल्माले सुझाव दिइन् ।

    कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेत, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, कोषाध्यक्ष भुवन आचार्य लगायतले बोल्दै समूहको वार्षिक नीति तथा कार्यक्रम अनुसार शरीरका अन्य अंग जस्तै आँखाको स्वास्थ्यलाई महत्व दिएर आँखा जाँच कार्यक्रम आयोजना गरिएको बताए ।

    आँखा जाँच कार्यक्रममा समूहका पार्षद तथा कार्यसमिमिति पदाधिकारी तथा सदस्य गरी १५० जनाको दृष्टि, दृष्टि दोष, प्राथमिक चेकजाँच, मोतियाबिन्दु, वायोमेट्री र चस्मा जाँच तथा निशुल्क औषधी वितरण गरिएको थियो । आँखा जाँच गराएकाहरुको शल्यक्रिया (अपरेशन) तथा थप अन्य उपचार गर्नुपरेमा श्री कृष्ण नेत्रालयको भैरहवा र बुटवल शाखाले टिकट निःशुल्क र अन्य उपचारमा विशेष सहुलियत दिने गरी सम्झौता भएको समूहका अध्यक्ष रविन्द्र बस्नेतले जानकारी दिए ।