२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

भलाई कोषद्वारा पाँचलाखको छात्रवृत्ति अक्षयकोष स्थापना

शनिवार , बैशाख १, २०८१

  • 949
    Shares
  • 949
    Shares
  • बुटवल, १ वैशाख ।

    यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सवको अवसर पारेर छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

    कोषले शनिबार एक समारोहकाबीच ५ लाख १ हजार १११ रुपैयाँको गरीब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । यो अक्षयकोषको कार्यविधि निर्माण गरी यातायात मजदूरका छोराछोरीलाई उपलव्ध गराउने लक्ष्य राखिएको छ ।

    छात्रवृत्ति अक्षयकोष स्थापना र भित्तेपात्रो विमोचन कार्यक्रमको उद्घाटन गर्दै कोषका पूर्व अध्यक्ष, मानार्थ सदस्य एवं सल्लाहकार कुमार थापाले कोषले विगतदेखि हालसम्म भोग्दै आएका कठिना  र यातायात व्यवसायी तथा मजदूरको लागि कोषले गर्दै आएको कार्यका बारेमा प्रकाश पारेका थिए । उनले विगतमा मजदूर मात्र आवद्ध कोषमा व्यवसायीलाई समेत सहभागी गराउन ठूलो मिहिनेत गर्नुपरेको भन्दै फलस्वरुप भलाई कोष अहिलेको अवस्थासम्म आइपुगेको बताए । उनले २०५३–५४ सालमा आफूले कोषको नेतृत्व गर्दा चलचित्रको च्यारिटी शो बापतको ७८ हजार रकममा कोषले २२ हजार थपेर छात्रवृत्ति अक्षयकोष स्थापना गरेको स्मरण गर्दै तर, त्यसको छुट्टै कार्यविधि बनाएर सञ्चालन नहुँदा त्यो कार्यान्वयनमा आउन नसकेको बताए ।

    पूर्वअध्यक्ष थापाले अहिले स्थापना भएको छात्रवृत्ति अक्षयकोषको छुट्टै कार्यविधि र बैंक खाता सञ्चालन गरिने र यातायात मजदूरका छोराछोरीका साथै कोषका कर्मचारीका बालबच्चालाई पनि छात्रवृत्तिमा समेटिने बताए । 

    कार्यक्रममा बोल्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले भलाई कोषको आफ्नो सामाजिक दायित्व समेत रहेकाले छात्रवृत्ति स्थापना गरी स्वर्ण महोत्सवलाई थप रचनात्मक बनाउन सकिएको बताए । उनले स्वर्ण महोत्सवका अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिएको भन्दै कोषका गतिविधिबारे प्रकाश पारेका थिए ।

    त्यसअवसरमा कोषका उपाध्यक्ष छविलाल थापा, महासचिव योगबहादुर गुरुङ, सचिव बृजेश न्यौपाने, कोषाध्यक्ष प्रकाश कुमार नेपाल, सल्लाहकार कृष्णप्रसाद बेलबासे, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, कार्यालय प्रमुख ठानेश्वर बस्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसअवसरमा कोषले प्रकाशित गरेको नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।

    PWS1339.JPG