२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

संसदको चालु अधिवेशन बैशाख २ गतेबाट अन्त्य गर्न सिफारिस

शुक्रवार , चैत्र ३०, २०८०

काठमाडौं, ३० चैत । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालू अधिवेशन बैशाख २ गते मध्यराती देखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए । कांग्रेसको अवरोधका कारण नभई बजेट अधिवेशन आह्वानका लागि केहि समय आवश्यक भएकाले संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिएको उनले बताए ।

त्यस्तै बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको शर्माले जानकारी दिए ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष एवं सदस्य नियुक्ती सिफारिस गर्न समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिए । त्यस्तै बैठकले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले संयुक्त राष्ट्र संघको ओहाया राज्यका लागि डा दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूतमा  नियुक्त गर्ने निर्णय गरेको छ । प्रवक्ता शर्माले व्यक्तिविशेषलाई केन्द्रीत गरेर संसदीय छानविन समिति गठन गर्न प्रमाण चाहिने भएपनि राजनीतिक पूर्वाग्रहमा राखेको माग पुरा गर्न नसकिने स्पष्ट पारे ।