२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अन्तरप्रदेश क्रिकेट खेल्न लुम्बिनीको टीम चितवनतर्फ प्रस्थान

बुधवार , चैत्र २८, २०८०

  • 940
    Shares
  • 940
    Shares
  • भैरहवा, २८ चैत ।
    अन्तरप्रदेश स्तरीय राष्ट्रिय खेलकुद–२०८० का लागि लुम्बिनी प्रदेशको क्रिकेट टीम बागमती प्रदेशतर्फ प्रस्थान गरेको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहित १६ सदस्यीय टीम बागमतीको चितवनमा हुने क्रिकेट प्रतियोगिता खेल्नका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । 

    बुधबार रुपन्देही क्रिकेट संघले प्रतियोगितामा सहभागी हुन जाने अफिसियल टोलीलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद बागमती प्रदेशको हेटौंडामा भए पनि क्रिकेट भने चितवनमा हुनेछ ।

    संघका अध्यक्ष हरिबहादुर थापा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, क्रिकेट संघ रुपन्देहीका सल्लाहकार दीपेन्द्रमान श्रेष्ठ र देवराज न्यौपानेले खेलाडीसहित अफिसियल टोलीलाई विदाई गरेका छन् । सो अवसरमा बोल्दै उनीहरुले लामो समयसम्म प्रदेशले उपाधि जित्न नसकेको जनाउँदै यसपटक उपाधिसहित फर्कन आग्रह गरे । उनीहरुले अनुशासित भइ खेल्न आग्रह गर्दै खेलाडीको अनुशासन गहना भएको जनाए ।

    टीम प्रशिक्षक दुर्गाराज सिनले लामो समयको तयारी, खेलाडीको मिहिनेत, अनुशासन र लगाबले यसपटक उपाधि जित्ने लक्ष्य रहेको सुनाए । लामो समयदेखि लुम्बिनी प्रदेश उपाधिबिहीन हुनु परेको खडेरी यसपटक तोडिने उनको भनाइ छ । राम्रा र अभ्यस्त खेलाडी टिममा रहेकाले उपाधि जित्नेमा आफूहरु ढुक्क रहेको उनले विश्वास गरे ।

    सहभागी त्रिकेट खेलाडीमा देव खनाल (कप्तान), मिर्नाल गुरुङ्ग, आकाश त्रिपाठी, प्रज्वल बहादुर थापा (विकेट किपर), अजय चौहान, सिद्धान्तराज शाही, दिलशाद अलि, निर्मल गुरुङ्ग, अभिशेष गौतम, कृष्ण कार्की, दुर्गेश गुप्ता, बीरबहादुर घर्ती मगर, नरबहादुर सार्की र मोहम्मद हुसेन छन् । 

    त्यस्तै, प्रशिक्षकमा दुर्गाराज सिन र टिम व्यवस्थापकमा धिरज अधिकारी (क्षेत्री) छन् । क्रिकेट संघ रुपन्देहीका अध्यक्ष थापाको संयोजकत्वमा प्रदेशस्तरीय टीम छनोट गरिएको थियो । लुम्बिनीले पहिलो खेल बिहीबार खेल्नेछ ।