भैरहवा, २५ चैत ।
आइतबार (आज) देखि वैशाख २ गतेसम्म चितवनमा हुने ‘प्रथम बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८०’ अन्तर्गत हुने तेक्वान्दो प्रतियोगितामा सहभागी हुने लुम्बिनी प्रदेश तेक्वान्दो टीमलाई बिदाई गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीका कोषाध्यक्ष कोशिष बहादुर खड्काले एक कार्यक्रमकाबीच टीम अफिसियल तथा खेलाडीहरुलाई खादा लगाएर सम्मानसहित बिदाई गरेका हुन् ।
लुम्बिनी प्रदेश तेक्वान्दो टीमबाट ११ जना महिला खेलाडी तथा ११ जना पुरुष खेलाडीहरु पुम्से तथा ग्यारोगीमा प्रतिष्पर्धा गर्ने टीममा प्रशिक्षक (कोच) मदन थापा तथा विष्णु चौधरी रहेका छन् । त्यस्तै टीम व्यवस्थापकमा राम प्रसाद कहार रहेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य समेत रहेका खड्काले लुम्बिनी प्रदेश प्रतियोगितामा प्रथम हुनेमा पुर्ण विश्वस्त रहेको र तेक्वान्दो टीमको स्वर्ण पदकद्वारा नै लुम्बिनी प्रदेश समग्र प्रतियोगितामा प्रथम स्थान हासिल गरी इतिहास कोर्न सफल हुने विश्वास व्यक्त गरे ।