२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थनगर–३ मा निःशुल्क स्वास्थ्य शिविर, २२५ जनाले लिए सेवा

शनिवार , चैत्र २४, २०८०

भैरहवा, २४ चैत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ कार्यालयको आयोजनामा शुक्रबार निःशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवाको प्राविधिक सहयोग, टिकाजित पुन भागीरथी पुन अक्षयकोष सिद्धार्थनगर नगरपालिका–३ को आर्थिक साझेदारी तथा प्रतिमान–नीमा स्मृति प्रतिष्ठान सिद्धार्थनगर–३ को व्यवस्थापकीय सहयोगमा सम्पन्न भएको हो ।

सिद्धार्थनगर–३ स्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भवन परिसरमा भएको शिविरमा २२५ जनाले सेवा लिएको प्रतिमान नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए ।  शिविरमा ५० जनाको पाठेघरको मुखको पानीको जाँच (प्याप स्मेयर), ११६ जनाको युरिन प्रोटिन टेष्ट, युरिन सुगर टेस्ट तथा ५० जनाको ई.सी.जी र यु.एस.जी. परीक्षण गरिएको के.सीले जानकारी दिए । शिविरमा जनरल फिजिसियन सेवा, महिला तथा स्त्री रोग सेवा, भिडियो एक्सरे सेवा, फार्मेसी सेवा, रक्त परीक्षणलगायतका सेवा प्रदान गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले स्वास्थ्य नै धन भएको बताए । उनले भने, ‘मान्छे स्वस्थ हुन जरुरी छ । स्वस्थ शरीर भए मस्तिष्क स्वस्थ हुन्छ । त्यसैले रोग लुकाउनु हुँदैन । ढुक्कका साथ आफ्नो शरीरमा भएका समस्या स्वास्थ्यकर्मीहरुलाई बताउनुपर्छ । ’ उनले फोहारमैला व्यवस्थापन सिद्धार्थनगरको मेयरको मात्र एक्लो प्रयासले हुन नसक्ने भएकाले नगरबासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

IMG_3354.JPG

प्रतिमान-नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले शिविरको सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै प्रतिष्ठानले विभिन्न निकायसँग हातेमालो गर्दै काम गर्दै आएको बताइन् ।

WhatsApp Image 2024-04-05 at 5.09.31 PM.jpeg

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए । उनले मानिस स्वस्थ नरहे रचनात्मक कार्यहरु गर्न नसक्ने बताए । यही कुरालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको उनले बताए ।

सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले वडाबासीको स्वास्थ्य सम्बन्धि समस्याको समाधान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताए ।

टिकाजित पुन भागीरथी पुन अक्षयकोषका अध्यक्ष ओमप्रकाश पुनले महिलाहरुलाई लक्षित गर्दै शिविरको आयोजना गरिएको बताए । उनले प्रतिमान नीमा स्मृति प्रतिष्ठान रहेको जग्गामा विगतमा धानको खेती भएकोमा अहिले स्वास्थ्यको खेती हुन थालेका भन्दै खुसी व्यक्त गरे । टिकाजित पुन भागीरथी पुन अक्षयकोषले शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्नुका साथै असहाय र विपन्नलाई सहयोग गर्दै आएको बताए ।

प्रतिमान-नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले डण्डा नदीको किनारमा फोहारमैला फालिदा यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले फोहोरमैला व्यवस्थापनका लागि दिगो समाधान खोज्न नगरप्रमुख इश्तियाक अहमद खानलाई आग्रह गरे । उनले प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा काम गर्दै आएको बताए । ‘प्रतिष्ठानले कोरोना महामारीमा आफ्नो भवन क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि उपलब्ध गराएको थियो । साथै विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको थियो, ’उनले भने ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर–३ का इञ्चार्ज दुर्गा बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

WhatsApp Image 2024-04-05 at 4.57.57 PM.jpeg