२०८२, फाल्गुण २७ गते

Mar 11 2026 | २०८२, फाल्गुण २७ गते

आज तराई–मधेशमा होली मनाइँदै

सोमवार , चैत्र १२, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १२ चैत ।

    सद्भावको पर्व होली आज (सोमबार) तराई–मधेश क्षेत्रमा मनाइँदैछ । नेपालको पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा यो पर्व मनाउने गरिएको छ । आफन्त, साथीभाइ मिलेर रंग, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो ।

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । फागु पूर्णिमामा एकाआपसमा रंग, अबिर दलेर रमाइलो मात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।

    तराई–मधेशमा क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ । त्यस्तै आफन्तहरू मिलेर रंगहरु दलेर एकआपसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ । होलीका अवसरमा आज तराई–मधेशका जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

    त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

    सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको मानिन्छ । होली पर्वले समाजमा असमानता र विभेद मेटाउन साँस्कृतिक भूमिका खेलेको संस्कृतिविद्हरुको भनाइ छ ।