भैरहवा, ११ चैत ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो दिगो सञ्चालनको माग गरेको छ । शनिबार भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हित बहादुर तामाङलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यस्तो माग गरेको हो ।
विमानस्थल नचल्दा जनतामा निराशा छाएको सञ्जालका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देही मात्र नभइ लुम्बिनी प्रदेशको आशाको केन्द्र हो । विमानस्थल सञ्चालन भएसँगै पश्चिम नेपालकै व्यवसायिक र पर्यटकीय गतिविधि बढ्ने आशा थियो । तर, आशा निराशामा परिणत भयो । ’
उनले ४३ अर्ब बढी राज्यको र विमानस्थल सञ्चालन हुने अपेक्षामा निजी क्षेत्रले अरबौंको लगानी गरेको बताए । २०७९ जेठ २ गते विमानस्थल उद्घाटन भएपछि कुवेतका लागि जजिरा एअरलायन्सले उडान सुरु गरेको र विदेशी राष्ट्रमा उडान विस्तार गर्नुपर्नेमा विद्यमान अवस्थामा चलिरहेको हवाई सेवा पनि बन्द भएकोले जनतामा निराशा छाएको ज्ञवालीले बताए ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्रको लगानी डुब्ने र व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताए । विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जालको अगुवाइमा आन्दोलन भएको र आन्दोलनपश्चात काठमाडौंमा वार्ता भए पनि विमानस्थल सञ्चालनमा आउन नसकेको उनले बताए ।
सञ्जालका महासचिव संजय बजिमयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान रहेको बताए । उनले जजिरा र हिमालयन एअरलायन्सको उडान पनि बन्द भएको बताए । उनले भने, ‘यथाशिघ्र विमानस्थल सञ्चालन हुनैपर्छ । केन्द्रीकृत मानसिकताले यो विमानस्थल सञ्चालन हुन सकेन ।’
ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले निराशा नभइ सकारात्मक हिसाबले नागरिकले सोचेको भन्दै धन्यवाद दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवहारमा नै अन्तर्राष्ट्रिय उडान हुने गरी प्रयत्न गर्ने बताए । उनले भने, ‘गौतमबुद्ध विमानस्थल अधिकतम उपयोग होस् भन्ने कोणबाट प्रयत्न गर्छौं । विमानस्थलमार्फत पर्यटकहरु ल्याएर आर्थिक गतिविधि बढाउनुपर्छ ।’