२०८२, आश्विन ४ गते

Sep 20 2025 | २०८२, आश्विन ४ गते

इन्द्रेणीको स्थापना दिवसमा रचनात्मक कार्यक्रम

शनिवार , चैत्र १०, २०८०

  • 826
    Shares
  • 826
    Shares
  • बुटवल, १० चैत । 
    बुटवलको सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले आफ्नो २९ औं स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले रक्तदान, दृष्टिबिहीन विद्यार्थीलाई तथा बटुक विद्यार्थीलाई अध्ययनमा सघाउ पुर्याउनका लागि आर्थिक सहयोग गरेको हो । 

    संस्थाले शान्ति नमूना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीका लागि अक्षयकोषमा थप गर्न नगद १५ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए । उनले दृष्टिबिहीन विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भनेर विद्यालयको अक्षयकोषमा थप हुने गरी आर्थिक सहयोग गरेको बताए । उनले विद्यालयका अध्यक्ष शरद भट्टराईलाई उक्त नगद बराबरको चेक प्रदान गरेका हुन् । 

    त्यस्तै बुटवल उपमहानगरपालिका–७ मा रहेको निलकण्ठ बाबाधाम श्रीसन्तोषी माता गुरुकुल विद्या मन्दिरका बटुकको अध्ययनमा सहयोग पुगोस् भनेर ११ हजार १ सय ११ रुपैयाँको आर्थिक सहयोग गरिएको अध्यक्ष अर्यालले जानकारी दिए । 

    स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा संस्थाका संरक्षक भुपाल कुमार श्रेष्ठले सहकारीहरु सिद्धान्त अनुसार सञ्चालन हुनुपर्ने धारणा राखे । उनले सामान्यदेखि सामान्य आय भएका नागरिकले थोरै थोरै गरी जम्मा गरेको सहकारी कोषलाई सुरक्षित र सुशासनमैत्री बनाउनुपर्ने बताउँदै आगन्तुक सहकारीहरुबाट जोगिन सहकारी सदस्यहरुलाई सुझाव दिए । 

    संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक माया गौतमको स्वागतमा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष धुर्वकुमार धिताल, पूर्वअध्यक्ष शिवलाल राना, मित्रबहादुर शाक्य, रक्त संचार केन्द्र बुटवलका राधा शर्मा लगायतले रगतको महत्वका बारेमा चर्चा गरेका थिए । 

    संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद अर्यालको सञ्चालनमा भएको रक्तदान कार्यक्रममा ४० प्वाइन्ट रगत संकलन भएको थियो । २ हजार ४४ शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी साढे १० करोड र बचत ४२ करोड रहेको अध्यक्ष अर्यालले जानकारी दिए ।