२०८३, जेठ ५ गते

May 19 2026 | २०८३, जेठ ५ गते

अन्तर्राष्ट्रिय विज्ञ समितिको कार्यशाला सकियो

मंगलवार , चैत्र ६, २०८०

  • 1000
    Shares
  • 1000
    Shares
  • लुम्बिनी, ६ चैत । 
    बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीनदिने कार्यशाला मंगलबार सकिएको छ । 

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातात्व विभाग र यूनेस्कोको आयोजनामा आइतबारदेखि मंगलबारसम्म कार्यशाला भएको हो । 

    लुम्बिनीस्थित बुद्धमाया गार्डेन होटेलमा भएको कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई हानी नपुर्याउने गरी विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् । 

    कार्यशाला समापन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले अन्तर्राष्ट्रिय विज्ञ समितिले दिएका सुझाव ग्रहण गर्दै बुद्ध जन्मस्थल विश्वभरका १ अर्ब बढी मानिसहरुको आस्थाको केन्द्र समेत भएकाले त्यसलाई पनि मध्यनजर गरी सुझावहरु दिन आग्रह गरे । उनले लुम्बिनी जस्तै पुरातात्विक स्थलहरु अन्य देशमा पनि रहेकाले त्यहाँ जसरी नै यहाँ पनि तीर्थालुहरुका लागि न्यूनतम सुविधा दिने विषयमा छलफल गर्नुपर्नेमा जोड दिए । 

    यूनेस्को जापानिज फण्ड ईन ट्रष्टको सहकार्यमा यूनस्कोद्वारा सञ्चालित परियोजनाले बृहत्तर लुम्बिनी क्षेत्रमा विगत १४ वर्षदेखि काम गर्दै आइरहेको छ । सोही परियोजना अन्तर्गत अन्तर्राष्ट्रिय विज्ञ समिति गठन गरिएको हो । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको बैठक बस्दै आएको छ ।

    लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्यमान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी र विदेशी विशेषज्ञ सम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समिति बनाइएको हो । 

    संयुक्त राष्ट्र संघको सहयोगमा केञ्जे टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदा संरक्षणका संरचना बनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा पनि त्यही गुरुयोजनालाई अनुसरण गर्नुपर्ने विज्ञहरुले यो वर्ष पनि सुझाव दिएका छन् । 

    समितिको छलफलमा विश्व सम्पदा केन्द्र यूनेस्कोका सम्पदा विज्ञ प्रो. रोलान्ड लिन, अन्तर्राष्ट्रिय विज्ञ प्रा.डा.रविन कनिङहम, प्रा डा. यूकियो निसिमुरा, विज्ञ डा. काई वाईज, पुरातत्व विभागका महानिर्देशक शोभाग्य प्रधानाङ्गा, विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, पुरातत्वविद् बसन्त विडारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, यूनेस्को परियोजना संयोजक नभा बस्न्यात थापा, कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती लगायतले ले प्रस्तुती राखेका थिए । 

    WhatsApp Image 2024-03-17 at 7.11.14 PM.jpeg

    त्यस्तै कार्यशालामा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सह–सचिव सुरेश सुरस श्रेष्ठ, कोषका योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य श्याम रोका लगायतले छलफलमा सहभागीता जनाएका थिए । 

    तीनदिने कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रमा हाल भइरहेका गतिविधि र सम्पदाको दिगो संरक्षण र भावी योजनाका बारेमा छलफल गरी सुझावहरु दिइएको वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए ।