सोमवार , चैत्र ५, २०८०
भैरहवा, ५ चैत ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मालवाहक रेल सेवा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्मै विस्तार गर्न आग्रह गरेको छ । संघले सोमबार भारतका केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीलाई भेटेर व्यापार सहजीकरणका लागि रेल सेवा नौतनवा रेल-वे स्टेशनदेखि आईसीपीसम्मै विस्तार गर्न आग्रह गरेको हो ।
‘एकीकृत जाँच चौकी नेपाल भारत सीमा नाका अन्तर्गत भैरहवा–सुनौलीमा निर्माणाधिन रहेको यहाँलाई अवगतै छ, केही दुरीमै रहेको आईसीपी क्षेत्रसम्म रेल सेवा विस्तार गर्न हामी आग्रह गर्दछौं, ’संघले राज्यमन्त्री चौधरीलाई बुझाएको पत्रमा उल्लेख छ ।
त्यस्तै भारत सरकारले कृषिजन्य वस्तुको निर्यात शुल्कमा लिदै आएको अतिरिक्त करमा छुट प्रदान गर्न पहल गरिदिन समेत आग्रह गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । खुल्ला सीमाका कारण अवैध लागूऔषध ओसारपसार बढ्दै गएकाले बोर्डर सेक्रुयटी फोर्स (बीएसएफ) लाई तोकिएको चेकपोइन्ट भन्दा बाहिर पनि निगरानीलाई बढाउन आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
