
मंगलवार , फाल्गुण ४, २०७७
तिलोत्तमा, ४ फागुन ।
रुपन्देहीको तिलोत्तमा वडा नम्बर ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणले कुनै पनि देशको विकास त्यहाँको शैक्षिक विकासले निर्धारण गर्ने बताए । उनले शैक्षिक गुणस्तर बढाउन र सामाजिक सेवामा समर्पित विद्यार्थी उत्पादनमा राज्यले विशेष ध्यानदिनुपर्नेमा जोड दिए । राष्ट्रियताको सम्बद्र्धन, लोकतन्त्रको रक्षा र विधिको शासन स्थापित गर्नका लागि अहिले हरेक नागरिक सचेत हुनुपर्ने भन्दै खांणले त्यसका लागि शैक्षिक जागरणले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशनालयका उपसचिव भोज बहादुर के.सी., शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, डिभिजन कार्यालयका प्रमुख दिपक भण्डारी, नेपाल नेत्रहीन संघका राष्ट्रिय अध्यक्ष रमेश पोखरेल, राष्ट्रिय बहिरा संघका महासचिव खुम बहादुर बुढाथोकी लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पुर्याउने प्रतिवद्धता जनाउँदै शुभकामना दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्तिको अभाव भएको भन्दै राज्यले शिक्षाको दायित्व र दायरा बढाउनुपर्नेमा जोेड दिए ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको वृहतर विकासका लागि खटिने २० जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने विद्यालयमा अक्षयकोष स्थापना गर्ने ५ जना दाताहरु र विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने ४ वटा संस्थालाई सम्मान गरिएको थियो ।
त्यसै गरी एस.ई.ई.मा जी.पी.ए. ४ प्राप्त गर्न सफल ८ जना विद्यार्थीहरुलाई स्वर्ण पदकबाट, जी.पी.ए. ३.९० भन्दा माथि प्राप्त गर्ने २५ जनालाई रजत पदकबाट सम्मान गरिएको थियो । त्यस्तै दाताहरुले स्थापना गर्नुभएका ४४ वटा छात्रवृत्ति विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने गतवर्ष एस.ई.ई. उत्तीर्ण ३ सय ३५ जना र कक्षा १२ उत्तीर्ण २ सय १२ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यसै गरी जिल्लास्तरीय हाजिरीजवाफमा प्रथमहुने कान्ति मा.वि., द्वितीय हुने न्यू होराइजन मा.वि., तृतीय हुने देवदह मदर टङ्ग्स र प्रोत्साहन स्थान प्राप्त गर्ने कालिका मानवज्ञान मा.वि.का विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
यसैबीच पूर्वमन्त्री बालकृष्ण खांणले विद्यालयमा निर्माण हुन गइरहेको ८ कोठे भवनको शिलान्यास, श्रवण दृष्टि विहिनश्रोत कक्षाको उद्घाटन र विद्यालयको वार्षिक मुखपत्र नानीको विमोचन गर्नुभएको सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अंग्रेजी माध्यमिक संयोजक दिपेन्द्र कुमार शाक्य र दश जोड दुईका संयोजक राजेन्द्र के.सी.ले गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्यहरु, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए भने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गरेका थिए । विद्यालयमा हाल करिब ३ हजार ६ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय ४० जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij