भैरहवा, १ चैत ।
नेपाली काँग्रेसका युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का निवर्तमान सांसद प्रमोद कुमार यादवले मर्चवारमा ट्याक्टर पल्टिँदा घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिन अस्पताल व्यवस्थापनलाई आग्रह गरेका छन् । साथै उनले घाइतेको उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा पुगेर ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
रूपन्देहीको कोटहीमाई गाउँपालिका–५, मा बिहीबार अपरान्ह भागवत पुजाको लागि जल भर्न गइरहेका सर्वसाधारण बोकेको ट्याक्टर पल्टिँदा ३४ जना घाइते भएका थिए । ट्याक्टर दुर्घटनाका घाइतेलाई भैरहवास्थित सिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेहरु भेट्न अस्पताल पुगेका यादवले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिने विश्वास दिलाए ।
यादवले अस्पतालको खातामा तत्काल ५० हजार रुपैयाँ जम्मा गरेर बिरामीको उपचारका लागि सहयोग गरेका हुन् । ‘मैले अस्पताल व्यवस्थापन र उपचारमा संलग्न चिकित्सकलाई भेटेर आर्थिक अभावले उपचारमा कमी नगर्न भनेको छु, आवश्यक आर्थिक व्यवस्थापन हाम्रो जिम्मेवारी भयो, घाइतेले राम्रो र प्रभावकारी उपचार पाउनुपर्छ भन्नेमा ध्यान पुर्याउन आग्रह गरेको छुझ, उनले भने।’
कोटहीमाई–७ बाट जल भर्नका लागि सर्वसाधारण बोकेर गएको लु १ त ५५४७ नम्बरको ट्याक्टर कोटहीमाई– ५ मा पल्टिएको हो । नेता यादवले घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सबै सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन् । अस्पताल व्यवस्थापनले पनि नेता यादवसँग घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ ।