
मंगलवार , फाल्गुण ४, २०७७
भैरहवा, ४ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा अवस्थित पश्चिमाञ्चल इङलिस हाई स्कूलमा नवनिर्मित प्राथमिक ब्लक (न्यू प्राईमरी ब्लक)को उद्घाटन गरिएको छ । सरस्वती पूजाको अवसर पारेर उक्त ब्लकको मंगलबार उद्घाटन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा विद्यार्थीहरुको चाप बढ्दै जाँदा ठूला र साना कक्षाका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पढाउँदा स–साना विद्यार्थीहरुलाई तनावमुक्त अध्ययन–अध्यापन गराउने प्रक्रियामा अवरोध भएपछि प्राईमरी ब्लकको स्थापना गरिएको विद्यालयका प्रिन्सिपल राजु शर्मा ढकालले बताए । उनले विद्यार्थीहरुको उमेर अनुसार शैक्षिक आवश्यकतासंगै अन्य आवश्यकताहरुको परिपूर्ति गर्ने उद्देश्यले छुट्टै ब्लक निर्माण गरिएको बताए । नवनिर्मित प्राइमरी ब्लकमा बालमैत्री शौचालय, कक्षाकोठा, पानी पिउने धारा, खेल्ने स्थान रहेको उनले बताए । छुट्टै ब्लक बनेसंगै अब साना विद्यार्थीहरु निर्धक्कसंग अध्ययन गर्न सक्ने र अध्ययनप्रति उनीहरुको रुची बढ्ने उनले विश्वास व्यक्त गरे ।
ब्लकको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले विद्यार्थीहरुलाई शिक्षा दिने शिक्षक–शिक्षिकाको भुमिका महत्वपूर्ण रहेको चर्चा गरे । उनले विद्यालयले इञ्जिनियर, डाक्टर, वैज्ञानिक, पत्रकार उत्पादन गरे जस्तै अब असल नेता पनि उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकार चलाउने व्यक्ति पनि शिक्षित हुनुपर्ने बताए । शिक्षित व्यक्ति पनि राजनीतिमा आउनुपर्ने उनको भनाइ थियो ।
बागेश्वरी असल शासन (बास) रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीले विद्यालयले आगामी दिनमा थप रचनात्मक कार्य गर्दै जाने विश्वास व्यक्त गरिन् ।
विद्यालयकी प्रबन्ध निर्देशक रिता ढकालको अध्यक्षता तथा शिक्षक रामेश्वर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वि.सं. २०५२ सालमा स्थापित विद्यालयमा १ हजार ८५ जना विद्यार्थी अध्ययरत छन् भने ५५ जना शिक्षक/कर्मचारी कार्यरत छन् । पश्चिमाञ्चल इङलिस स्कूलमा अध्ययनरत विद्यार्थीहरुले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij