२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेस नेता भन्छन्-हाम्रै मुख्यमन्त्री हुनुहुन्छ, तर वडामा एकलाखको पनि योजना परेन

बिहिवार , फाल्गुण १७, २०८०

भैरहवा, १७ फागुन ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले बुधबार बेलुकी भैरहवामा अर्थमन्त्री तथा कांग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाश शरण महतसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा कांग्रेसका नेता–कार्यकताहरुले विभिन्न गुनासो राखे । उनीहरुले अर्थमन्त्रीलाई विभिन्न सल्लाह–सुझाव पनि दिए । कार्यक्रममा बोल्ने नेता–कार्यकर्ताहरुमध्ये अधिकांशले गठबन्धन सरकार, पार्टी, अहिले वर्तमान आर्थिक अवस्थाबारे बोलेका थिए ।

Prakash Saran 7.jpg

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सचिव तथा प्रवक्ता लेखनाथ भट्टराईले कार्यक्रमको सञ्चालन गर्न सुरु गरेपछि स्वागत मन्तव्य राखेका क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालले सरकारसँगै पार्टी र गठबन्धन पनि असफल भएको भन्दै आक्रोश पोखे ।
त्यसपछि आफ्ना भनाइ राख्दै कांग्रेस सिद्धार्थनगर नगरपालिका–९ का सभापति श्याम खनालले भने, ‘हाम्रै पार्टीको मुख्यमन्त्री हुनुहुन्छ तर, वडामा एकलाखको पनि योजना परेको छैन । अरु पार्टीको मुख्यमन्त्री भए गएर तालाबन्दी गर्दथ्यौं । तर, के गर्ने हाम्रै पार्टीका मुख्यमन्त्री हुनुहुन्छ । हामी पीडित छौं ।’

त्यस्तै नेपाल इञ्जिनियर्स एशोसियशन लुम्बिनी प्रदेशका अध्यक्ष शैलेन्द्र प्रसाद श्रेष्ठले अहिलेको आर्थिक अवस्था खस्किनुमा नेपाल राष्ट्र बैंकबाट केही कमीकमजोरी भएको बताए । इञ्जिनियर श्रेष्ठले भने, ‘राष्ट्र बैंकको नीतिमा केही समय खुकुलो गर्नुपर्छ ।’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले जनताले बचत गरेको रकम लिएर केही सहकारी संस्थाका सञ्चालक भागेको बताए । उनले भने, ‘सर्वसाधारणले बचत गरेको कराडौंको रकम फसेको छ । भारतबाट १ सय रुपैयाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार गर्नुपर्ने व्यवस्थामा परिमार्जन गरेर रकमको सीमा बढाउनुपर्ने उनले बताए । वडाअध्यक्ष श्रेष्ठले भने, ‘भन्सारबाट राजस्व उठेन भने जनतालाई चुस्ने होइन नी ।’

कांग्रेस सिद्धार्थनगर–३ का सह–सचिव कुल प्रसाद न्यौपानेले उद्योग व्यवसायमा निकै शिथिलता रहेको बताए । उनले बैंकले लगानी गर्न नसकेको बताए । उनले भने, ‘उद्योगी व्यवसायीमा विश्वासको वातावरण बन्न सकेको छैन । युवायुवती विदेश जाने प्रवृत्ति बढेको छ । विदेश जानु दीर्घकालीन समाधान होइन ।’

त्यसै गरी सिद्धार्थनगर नगरपालिका–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले कांग्रेसकै नेता मुलुकको अर्थमन्त्री हुँदा सिद्धार्थनगरमा बजेट किन घट्यो भन्दै प्रश्न गरे ।

Prakash Saran 8.jpg

कांग्रेस क्षेत्रीय प्रतिनिधि कमला आचार्यले ग्रामीण विकास बैंकलाई लघुवित्तीय संस्थासँग दाजेर हेर्न नमिल्ने बताइन् ।

सिद्धार्थनगर–१ का नेता राकेश गुरुङले गत वर्ष ५ हजार ५ सय मोटरसाइकलको कर तिरेको तर, अहिले १३ हजार ४ सय किन तिर्नुपर्यो भन्दै प्रश्न गरे ।

कांग्रेसका युवा नेता माधव शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको अवस्थामा निजगढ र धरानमा किन बनाउनुपर्यो भन्दै प्रश्न गरे ।

कांंग्रेस क्षेत्र नम्बर ३ (क) का सभापति दीपक बहादुर कुँवरले विमानस्थल सञ्चालनमा नआउँदा अरबौंको लगानी जोखिममपरेको बताए । उनले १ किलो चामल र २ किलो चिनी ल्याउन पनि भन्सार गर्नुपर्ने प्रावधानमा संशोधन गर्नुपर्ने बताए ।

महिला उद्यमी पल्ल्वी न्यौपानेले महिलाले पाउने सुलभ कर्जामा अन्यौलता रहेकोले समस्या समाधान गर्न अर्थमन्त्रीलाई आग्रह गरिन् ।

अर्थमन्त्रीले के भने ?

सहभागीको गुनासो, जिज्ञासा सुनेपछि अर्थमन्त्री डा. प्रकाश शरण महतले भने, ‘हाम्रो पार्टीमा आफ्नैदेखि हामीलाई धेरै रिस उठ्छ । हामी विपक्षीको कुरा गर्दै गदैनौ । आफ्नोलाई देख्नेबित्तिकै रिस उठ्छ । सत्तामा गएनौ भने नालायक भए हुन्छ । सत्तामा गए यिनीहरुले केही गरेनन् भन्छौं ।’

Prakash Saran 1.jpg

उनले वर्षौदेखि समस्याहरु थुप्रिएको र एकैपटक समस्या समाधान गर्न नसकिने बताए । कांग्रेसबाट सहभागी भएका मन्त्रीहरुले राम्रो काम नै गरेको उनको भनाइ छ । अर्थमन्त्री डा. महतले कांग्रेस गैरजिम्मेवार बन्न नसक्ने बताए । उनले भने, ‘सायद मुख्यमन्त्री पनि बजेटको सीमाभित्र हुनुहुन्छ । सबैको टिप्पणी गर्नुहुँदैन । मैले पूर्ण रुपमा थाहा नपाएकाले भन्न सक्दिन ।’

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बताए । भारतीय पर्यटकले नेपालमा भारु २५ हजार भन्दा बढी ल्याउन नपाएपछि कसरी खर्च गर्ने भन्ने कांग्रेस नेता–कार्यकर्ताको प्रश्नमा उनले यसलाई सहज गर्न जरुरी रहेको बताए । उनले भने, ‘म यसमा लागेको छु ।’

सीमावर्ती क्षेत्रमा बसेका नागरिकले भारतबाट सामान ल्याउँदा केही सहजता हुनुपर्छ भन्ने माग गर्नु स्वभाविक भए पनि भारतबाट सबै सामान किन्ने हो भने नेपालका उद्योग–व्यवसाय अझ धरासायी हुने र धेरैको रोजगारी गुम्ने बताए । उनले यसबारे सन्तुलित दृष्टिकोण राख्न आग्रह गरे । सहकारीका बचतकर्ताको रकम जोगाउनेतर्फ लागेको उनको भनाइ छ ।