काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गुणस्तरहीन छडबाट सर्वसाधारण नागरिकहरुले बनाएका संरचनाहरुको सुनिश्चितताबारे ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले निर्माण कार्यमा प्रयोग हुने गुणस्तरहीन छडहरुको कारण सर्वसाधारण नागरिकले बनाएका संरचनाहरु जोखिमयुक्त रहेको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।
उनले निर्माण प्रक्रियामा सरकारले बनाउने ठूला योजनाहरुमा गुणस्तर मापन हुने तर सर्वसाधारण नागरिकले बनाएका संरचनामा छडजन्य सामग्रीहरुको गुणस्तर मापन नहुने भएकाले सरकारले विशेष जोड दिएर अघि बढ्न आवश्यक रहेको बताए ।
उनले सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा आवश्यक हुन्छ भन्नेबारेमा पनि छलफल हुन जरुरी रहेको बताए ।
उनले भने, ‘निर्माण प्रक्रियामा जब ठूला ठूला प्रोजेक्टहरुले त गुणस्तर मापन गर्दछन् । तर सर्वसाधारण नागरिकहरुले बनाएका संरचनाहरुको ग्यारेन्टीको जिम्मेवारी कसले लिने रु यदी छडहरु गुणस्तरहीन छन् र बनेको संरचनाहरु साँच्चै जोखिमयुक्त छन् भने त्यसको जिम्मेवारी कसले लिने, यो पाटोबाट पनि ध्यानाकर्षण गराउँछु । यो पाटोबाट हेर्नुपर्छ ।
कतै न कतै सरकारले तत्कालीन समयमा जस्टिफाइ गर्दैगर्दा रोजगारी सिर्जना हुन्छ, खपतसँगै निर्यात पनि गर्न सकिन्छ भन्ने विषयमा कुरा आयो । सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्छ । नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा रोजगारी सिर्जना हुनसक्छ बढी भन्ने बारेमा सोच्नुपर्छ ।’
उनले नेपालमा रोजगारी बढी दिनसक्ने उद्योगहरुको सञ्चालन आवश्यक रहेको बताए ।