
मंगलवार , श्रावण २०, २०७७
भैरहवा, २० साउन ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका छन् ।
प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रममा मन्त्रालयहरुको प्रस्तुतीपछि उनले नतिजामुखी र उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च निर्देशन दिएका हुन् ।
“बजेट खर्च भएपछि के उपलब्धी भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ-उनले भने ।
उनले गत आर्थिक वर्ष धेरै अप्ठयारोका बीच राम्रो नतिजा निस्केको र त्यसका लागि काममा खट्ने सबैलाई धन्यवाद दिए । साथै उनले चालु आर्थिक वर्षमा अझ धेरै राम्रो गर्न संयोजनकारी सक्रियता बढ्ने विश्वास व्यक्त गरे ।
कोभिड—१९ ले सिर्जना गरेको असहज अवस्थाका बाबजुद गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत भएको छ । त्यसै गरी चालुतर्फ ६० दशमलव ५४ प्रतिशत भएको छ । यो हिसाबले कुल खर्च ७० दशमलव ०१ प्रतिशत भएको हो ।
सिंचाई र खानेपानीको दीगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्न मुख्यन्त्री पोखरेलले निर्देशन दिए । “ठूला खालका जलाशय निर्माण, गरौं, त्यस्तो गर्न सकिने क्षेत्रको पहिचान गरी योजना अघि बढौं, ती आयोजनाले नतिजा दिन्छन्—उनले भने ।
सेवा प्रवाहलाई छिटो र छरितो बनाउन र नागरिकको विश्वास जित्न प्रविधिको प्रयोगलाई ध्यान दिएर अघि बढ्न मुख्यमन्त्रीले निर्देशन दिए ।
त्यसै गरी, उनले यातायात व्यवस्था कार्यालय नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन निर्देशन दिए । उनले कपिलवस्तु र अर्घाखाँचीका लागि कपिलवस्तुमा कार्यालय स्थापना गरी काम गर्न सके बुटवल कार्यालयको चाप घटाउन सकिने भएकाले त्यतातिर ध्यान दिन आग्रह गरे ।
कर्मचारी हेरफेर भदौ भित्र गर्न तथा कार्यसम्पादन र मुल्यांकनका आधारमा हेरफेर गर्न मुख्यमन्त्रीले निर्देशन दिए ।
रिक्त दरबन्दीमध्ये अत्यावश्यक र प्राविधिक जनशक्तिको सूची तयार गरी पूर्तिका लागि प्रदेश लोकसेवा आयोगलाई छिटो दिन मुख्यमन्त्रीले आग्रह गरे ।
उनले कोभिड–१९को दोस्रो चरण आएको त्यसले भारतमा संक्रमित र मृत्यु हुनेको संख्या बढेकोले त्यसको विश्लेषण गर्दै सामाजिक विकास मन्त्रालयले योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिए । दोस्रो चरणमा लक्षणसहितका विरामीको संख्या बढेकाले उनले आइसीयुको क्षमता बढाउनुपर्ने बताए ।
कोभिड-१९ का कारण धेरैको रोजगारी गुमेकोले भारतीय श्रमिकको प्रतिस्थापन गरी रोजगारी श्रृजना गर्ने गरी काम अघि बढाउनुपर्ने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij