
सोमवार , माघ ८, २०८०
भैरहवा, ८ माघ ।
पक्लिहवा भूतपूर्व विद्यार्थी समाजले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित पक्लिहवा माध्यमिक विद्यालयमा फर्निचर, शैक्षिक सामग्री तथा न्यानो लुगा हस्तान्तरण गरेको छ । देउसीभैलोबाट संकलित रकमबाट १ लाख ११ हजार रुपैयाँ बराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको समाजका सचिव माधव शर्माले बताए ।
आइतबार पक्लिहवा माविमा एक कार्यक्रमकाबीच सामग्रीहरु हस्तान्तरण गरिएको समाजका अध्यक्ष भिम बहादुर थापाले बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक मोहन सिंह आलेले विद्यालयमा पढेका विद्यार्थीहरुलाई विद्यालयका लागि के गरौं भन्ने सोच्छन् भने त्यो ठूलो कुरा भएको बताए । उनले १५–२० वर्षअघि पक्लिहवा माविको चारैतिर पर्खाल र त्यति राम्रो गेट नभएको स्मरण गरे । उनले भने, ‘अहिले विद्यालयको अवस्थामा सुधार आएको छ । यसमा भूतपूर्व विद्यार्थी समाजको योगदान महत्वपूर्ण छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङले विद्यालयको आवश्यकताको पहिचान गर्दै पक्लिहवा भूतपूर्व विद्यार्थी समाजले सहयोग गरेको भन्दै धन्यवाद दिए । उनले आगामी दिनमा पनि समाजबाट विद्यालयले सहयोगको अपेक्षा राखेको बताए । उनले भने, ‘भूतपूर्व विद्यार्थी समाजले गरेका कार्यक्रहरु उत्कृष्ट छन्, विद्यालय परिवार समाजप्रति ऋणी छ । ’ जनप्रतिनिधिले शिक्षा क्षेत्रको विकासका लागि विशेष जोड दिनुपर्ने उनको भनाइ छ।
विद्यालयका पूर्व प्रधानाध्यापक दिनेश कुमार श्रेष्ठले पक्लिहवा भूतपूर्व विद्यार्थी समाजले सिर्जनात्मक कार्य गर्दै आएको बताए ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस भैरहवाका सहायक क्याम्पस प्रमुख शैलेस गुरुङले अहिलेको समय प्रतिष्पर्धाको समय भएको बताए ।
श्री बेलहिया माविका प्रधानाध्यापक बिना भण्डारी पाठकले पक्लिहवा भूतपूर्व विद्यार्थी समाज विद्यालयको विकासमा सक्रियतापूर्वक लागेको बताइन् । उनले यही तरिकाले सबै विद्यालयमा भूतपूर्व विद्यार्थी समाज लागे विद्यालयको विकास हुने बताइन् ।
पक्लिहवा माविका प्रधानाध्यापक बसन्त कुमार बस्नेतले पक्लिहवा भूतपूर्व विद्यार्थी समाजले गरेका कार्यक्रमले नै समाजको सक्रियता देखाएको बताए ।
पक्लिहवा भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष भिम बहादुर थापाको अध्यक्षता, पक्लिहवा माविका पूर्व प्रधानाध्यापक मोहन सिंह आलेको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङको विशिष्ट आतिथ्यता, कार्यक्रम संयोजक मनिष श्रेष्ठको स्वागत तथा समाजका सचिव माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा समाजले आयोजना गरेको देउसीभैलोमा विभिन्न संयोजकको जिम्मेवारी निर्वाह गरी सहयोग गरेको भन्दै चन्दन राना, मनिषा थापा, अर्पना गुरुङ र नितु सिंहलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij