
शुक्रवार , माघ ५, २०८०
बुटवल, ५ माघ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, प्रगतिनगरस्थित श्री प्रगति माध्यमिक विद्यालयको रजत जयन्ती महोत्सवमा युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले छात्रवृत्ति वितरण गरेका छन् । विद्यालयमा अध्ययनरत ८७ जना गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
समाजसेवी रानाले विद्यालयमा स्थापना गरेको ५ लाख ५५ हजार राशीको अक्षकोषबाट छात्रवृत्ति वितरण गरिएको हो । सो अवसरमा बोल्दै रानाले राज्यले कुनै पनि बालबालिकाले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । सोही योजनाअनुसार आफूले प्रगति माविमा निजी स्रोतबाट रहेका शिक्षकहरुलाई सेवासुविधा प्रदान गर्न तथा विद्यार्थीलाई छात्रवृत्तिबाट अध्ययनमा प्रोत्साहन गर्न अक्षकोष स्थापना गरेको उल्लेख गरे । आफ्नो सानो प्रयासले पनि ठूलो प्रेरणा अरुलाई समेत जान सक्ने उल्लेख गरे ।
विद्यालय स्थापनाको ऐतिहासिक २५ औ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी सप्ताहव्यापी मनाउँदैछ । विद्यालयकी प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ गतेदेखि जारी महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुन जानकारी दिइन् ।
विद्यालयका अध्यक्ष जित बहादुर मल्लले शहरभित्रकै पिछडिएको वडामा वि.सं. २०५४ सालमा स्थापना भएको विद्यालयले शैक्षिक योगदान दिदै आएको बताए । श्रमिक, गरीब, जनताका छोराछोरीहरुलाई शिक्षा दिदै आएको विद्यालय नगरको पहुँचमा पुग्न नसकेको अवस्थामा पनि स्थानीय शिक्षाप्रेमीहरुको अगुवाइमा भौतिक र शैक्षिक विकास हुँदै आएको उनले बताए ।
विद्यालयमा शैक्षिक विकासमा योगदान दिने अक्षयकोष दाता, शिक्षकहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको उनले बताए । विद्यालयमा हाल २१ शिक्षक र कर्मचारी कार्यरत तथा ६ सय विद्यार्थी अध्ययनरत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij