मंगलवार , माघ २०, २०७७
भैरहवा, २० माघ ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले ८ जनालाई प्राविधिक तालिम दिएको छ । वर्तमान असहज समयमा रोजगारी गुमाएका बेला क्लबले तालिमसहित रोजगारको सुनिश्चितता समेत गरेको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका सचिब प्रियबन्धु न्यौपानेले बताए ।
क्लबले ४ जना युवाहरुलाई रेफ्रिजेरेटर (फ्रिज) र एसी (एअरकन्डशन) बनाउने र ३ युवा १ युवतीलाई चश्मा बनाउने सम्बन्धि (अप्टीकल डिस्पेन्सर) ३ महिने तालिम दिएको हो । तालिम लिएका ८ जना अहिले सिद्धार्थ रेफ्रिजेरेशन गल्लामण्डी र लुम्बिनी नेत्रालय भैरहवामा रोजगार प्राप्त गरिसकेका छन् ।
क्लबले अन्य सामाजिक काम साथै यो नौलो रोजगारीमुखी कार्यक्रम पहिलो चोटी आयोजना गरेको क्लबका अध्यक्ष हिरा शाहले बताए । यसैबीच क्लबले तालिम लिएका ८ जनालाई एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरेको छ ।
सो अवसरमा क्लबका संस्थापक अध्यक्ष विमल सेञ्चुरी, निवर्तमान अध्यक्ष प्रेम राज शर्मा, पुर्व अध्यक्ष कृष्ण प्रसाद पाण्डे, सह–सचिव बासु वडाल, कार्यक्रम संयोजक अनिल कुमार गुप्ताले तालिम लिएसंगै रोजगार सुनिश्चित भएको भन्दै राम्रो र उपयोगी तालिम प्राप्त गरे स्वदेशमै रोजगार पाइने बताए । उनीहरुले रोजगारदाता संस्थाले तालिम समाप्तिसंगै युवाहरुलाई रोजगार दिएकोमा आभार प्रकट गरे ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij