images

शनिवार, फाल्गुण १९ गते २०८०

गौतमबुद्ध विमानस्थलले बदल्दैछ लुम्बिनीको पर्यटन मुहार

गौतमबुद्ध विमानस्थलले बदल्दैछ लुम्बिनीको पर्यटन मुहार

images
images
images
शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • गौतमबुद्ध विमानस्थलले बदल्दैछ लुम्बिनीको पर्यटन मुहार

    लुम्बिनी प्रदेश पर्यटनको अथाह सम्भावना भएको भूमि हो । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकीय गन्तव्यहरूसँग सिधा हवाई सम्पर्कमा जोडिने माध्यम थपिएको छ । विमानस्थल सञ्चालनसँगै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ ।

    images
    images
    images

    भविष्यसमेत हेरेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेका लागि भने विभिन्न कारणले हुनुपर्ने जति उडान हुन सकेका छैनन् । अहिले नेपाल एयरलाइन्सले भैरहवाबाट बिभिन्न देशका लागि उडान भरिरहेको छ । अबको केही सयममा नै गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले नियमित उडान गर्ने तयारी गरेका छन् । उडान संख्या बढेसँगै लुम्बिनीमा पर्यटकको चहलपहल बढ्ने छ । अहिले आन्तरिक हवाई सेवाप्रदायक कम्पनीहरूले समेत अन्तरप्रदेश उडान गर्न थालेका छन् । बुद्ध एयरले अहिले भैरहवाबाट पोखरासमेत उडान गरिरहेको छ । अन्य गन्तव्यहरूमा समेत उडानको तयारी हुँदैछ ।

    लुम्बिनी प्रदेशमा नयाँ पर्यटकीय प्रोडक्ट केबलकार समेत थपिएको छ । बुटवलमा अहिले लुम्बिनी केबलकार सञ्चालनमा रहेको छ भने अर्को केबलकार निर्माणको क्रममा रहेको छ ।
    लुम्बिनी प्रदेशको भैरहवा, बुटवलमा सुविधासम्पन्न तारे होटलहरु निर्माणको चरणमा रहेका छन् । होटलका पूर्वाधार थपिने क्रम बढ्दै गएको छ । बुटवल–पाल्पा सडकखण्ड सिद्धबाबामा सुरुङ निर्माण हुँदैछ । बागमती प्रदेशको चितवन र नारायणगढ सडकखण्ड चारलेनमा विस्तार हुँदैछ । लुम्बिनी प्रदेशको अर्को व्यापारिक हब नेपालगञ्जमा रहेको विमानस्थलमा विस्तार तथा स्तरोन्नति भइरहेको छ । सरकारले नेपालगञ्जबाट भारतको दिल्लीलगायतका स्थानमा उडानका लागि पनि पहल थालेको छ ।
    पाटेबाघलगायतको अवलोकनका लागि जंगल पर्यटनको चर्चित गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज पनि यही प्रदेशमा पर्छ । समग्रमा लुम्बिनी प्रदेश पर्यटकीय र औद्योगिक ग्रामको रुपमा परिचित छ । यो प्रदेशलाई मिनी नेपालको स्वरुप पनि भनिन्छ । हावापानी, भौगोलिक बनोट, बसोबास, जातजाती र पहिचानजस्ता कुराले यो प्रदेश सम्पूर्ण नेपालको एउटा प्रतिनिधिमूलक अंश जस्तो छ ।

    गर्मी हुने तराईदेखि चिसो पहाडसम्मको भूभाग छ यो पहाडमा । पूर्वदेखि पश्चिमसम्म फैलिएको यो प्रदेशमा त्यस्तै विविधताले भरिपूर्ण पर्यटकीय क्षेत्रहरू रहेका छन् । लुम्बिनी प्रदेशको पहिचान भनेको नै पर्यटकीय क्षेत्र हो । तराईका समथर भू–भागमा रहेका धार्मिक र ऐतिहासिक स्थलदेखि हिमाल पहाडको काखमा रहेका मनोरम दृश्य हेर्नका लागि सबैको रोजाइमा परिरहेको छ ।

    लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा बुद्ध जन्मस्थल लुम्बिनी नै हो । लुम्बिनीसहित बुद्ध हुर्केको तिलौराकोट, मावली देवदह तथा अस्तु धातु रहेको रामग्राम पर्यटकका लागि महत्वपूर्ण गन्तव्य हो । सरकार र सम्बन्धित सरोकारवालाले यी क्षेत्रको प्रचारप्रसारमा तीव्रता दिनसके यहाँ सहजै ठूलो संख्यामा पर्यटक आउन सक्छन् ।
    लुम्बिनी प्रदेशको अन्य पर्यटकीय गन्तव्यको रुपमा बाँके बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल, बाँकेको बागेश्वरी, बाह्रकुने दह, जुंगे महादेव, सिस्ने हिमाल, रुकुमरोल्पाका गाउँहरू पनि यहाँका प्रमुख पर्यटकीय क्षेत्र हुन् ।

    बाँकेको नेपालगञ्ज पर्यटकका लागि ट्रान्जिट प्वाइन्ट पनि बनेको छ । मानसरोवर जाने पर्यटकहरू नेपालगञ्ज भएर जाने गर्दछन् । यतिमात्रै होइन, गुल्मीको रेसुङ्गा, रुरुक्षेत्र, अर्घाखाँचीको पाणिनी तपोभूमि, अर्घादरबारसहितका दर्जनौं पर्यटकीय स्थल पर्यटकका लागि खुला छन् । तर प्रचारप्रसारको अभावमा अझै धेरै क्षेत्र ओझेलमा परेका छन् ।

    लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य
    बुद्ध जन्मस्थल हो लुम्बिनी । ईसापूर्व ६२३ मा यहाँको बगैँचामा मायादेवीको कोखबाट बौद्ध प्रणेता गौतमबुद्धको जन्म भएको हो । यो भूमि संसारभरका बौद्धमार्गी र शान्ति प्रेमीहरूका लागि विश्व शान्तिको रुपमा प्रसिद्ध छ ।

    सन् १९९७ देखि यो स्थल विश्वसम्पदा सूचीमा समावेश छ । पछिल्लो समय लुम्बिनीमा भएका अन्तर्राष्ट्रियस्तरका कार्यक्रमले लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको लुम्बिनी भ्रमणपछि लुम्बिनीमा अहिले भारतीय पर्यटकको आवागमनमा वृद्धि भएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा हालसम्म १ सय १४ अर्थात् आधा विश्वभन्दा बढी देशका पर्यटकले भ्रमण गरिसकेका छन् ।
    बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, गोटिहवा र निग्लिहवा खुला इतिहास पढ्ने ठाउँ हो । तिलौराकोटमा शाक्यवंशको राज्यको राजधानी थियो । राजा शुद्धोधन र रानी मायादेवीका छोरा सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको ठाउँ हो तिलौराकोट । चिनियाँ यात्री फाइयानले गरेको यात्रा वृतान्तसँग ठ्याक्कै मिल्दाजुल्दा संरचनाहरू भेटिएका कारण नै यो क्षेत्र प्राचीन कपिलवस्तुको राजधानी रहेको पुष्टि भएको उल्लेख छ । यहाँ पटकपटक विश्वप्रसिद्ध पुरातत्वविद्हरूले उत्खनन गरेर ३ हजार वर्षअघिसम्मका संरचनाहरू भेटाएका छन् ।

    यो स्थल बुद्धजन्मस्थल लुम्बिनीदेखि २२ किलोमिटरको दुरीमा पर्छ । तर यहाँ पर्याप्त पर्यटकीय संरचना नहुँदा पर्यटकको आकर्षणको केन्द्र हुन सकेको छैन । यहाँ क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा, हजारौं शाक्यहरूको नरसंहार गरिएको क्षेत्र सगरहवा, कुदान, अरौराकोट, सिसहनिया, कपिलधाम र जगदिशपुर ताल जस्ता महत्वपूर्ण क्षेत्रहरू पनि छन् ।

    पर्यटकमैत्री संरचना पर्याप्त नहुँदा लुम्बिनी आउने १० प्रतिशत पर्यटक मात्र तिलौराकोट पुग्ने गरेको तथ्यांकले बताउछ । नवलपरासीको रामग्राम स्तुप बौद्धमार्गीको अर्को आस्थाको केन्द्र हो । बौद्ध ग्रन्थअनुसार गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न आठ स्थानमा अष्टधातु राखिएको थियो । जसमध्येको एक रामग्राम हो । रामग्रामका तत्कालीन राजाले बनाएको यो स्तुप हेर्न वर्षेनी हजारौं पर्यटक जाने गरेका छन् ।

    inner Finalब.jpg

    रानी महल
    लुम्बिनी प्रदेशको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो पाल्पाको रानीमहल (रानीघाट) । रानीमहललाई नेपालको ताजमहलको रुपमा लिने गरिन्छ । रानीमहल पाल्पाको तानसेन बजारबाट ८ किलोमिटर उत्तर कालीगण्डकीको किनारमा रहेको छ । यो महल तत्कालीन पाल्पा राज्यका राजा खड्ग शमशेरले आफ्नी दिवंगत पत्नी तेजकुमारीको सम्झनामा बनाएका हन् । पछिल्लो समय यो महल हेर्नका लागि जाने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । लुम्बिनी तथा पोखरा घुम्न जाने विदेशी तथा स्वदेशी पर्यटकहरू रानीमहल घुम्न जाने गरेका छन् । यहाँ विदेशी पर्यटकको तुलनामा नेपाली पर्यटकहरू धेरै मात्रामा पुग्ने गरेको त्यहा उल्लेखित तथ्यांकले देखाएको छ । पर्यटकहरू ठूलाठूला बसदेखि चारपांग्रे सवारीसाधन तथा अधिकांश मोटरसाइकल लिएर रानीमहल पुग्ने गरेका छन् ।

    पछिल्ला वर्षहरूमा हिल स्टेशनको रुपमा प्रचार गरिएपछि रानीमहलमा भारतीय पर्यटकहरू ओइरिन थालेका छन् । अहिले रानीमहलसम्म जाने सडक राम्रो भएकाले पर्यटकहरू सहज रुपमा पुग्ने गरेका छन् ।

    स्वर्गद्वारी
    लुम्बिनी प्रदेशको अर्को पर्यटकीय गन्तव्यका रुपमा प्यूठानको स्वर्गद्वारी पनि हो । धर्मकर्म गर्न जाने ठाउँको रुपमा प्रसिद्ध स्वर्गद्वारी धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित छ । प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी ।

    पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्धारी नाम रहेको किम्वदन्तीमा उल्लेख छ । यहाँ पुगेपछि मनले चिताएको पूरा हुने जनविश्वासका साथ स्वदेशी र विदेशी पर्यटकहरू यहाँ जाने गरेका छन् । पछिल्लो समय यहाँ नेपाली आन्तरिक पर्यटक तथा भारतीय पर्यटकको भीड लाग्ने गरेको छ ।

    बर्दिया
    थारुभाषामा गोरू चराउनेहरूलाई बर्देवा भनिन्छ । १२ बर्देवा अर्थात १२ जना गोरू चराउनेहरूले पदनाहाको मुडुवामा आध्यात्मिक विश्वासका कारण सामूहिक आत्मबलिदान गरेको घटना सुनिन्छ । यो यही घटनाको आधारमा बेर्देवा अपभ्रंस भइ बर्दियाको नामाकरण भएको भन्ने गरिएको छ ।

    बृहत खस राज्यको सीमामा उत्तरमा ताक्लाकोट, पुरान, दक्षिणमा गंगा मैदान, पूर्वमा त्रिशुली र पश्चिममा गडवाल थियो । पछि संसार बर्मा र मेदनी बर्माको कालसम्म आइपुग्दा चौबिसे रजौटाहरूको विकास भयो भने बर्दिया दुल्लु राज्य अन्र्तगत पुग्यो । कहिले यो दुल्लु, कहिले डोटी, कहिले बृटिस नवाब अभिराज्य कहिले कलवारतिर भयो ।
    २०१९ साल पहिला भने बाँके बर्दिया एउटै प्रशासनिक एकाइमा थियो । त्यसपछाडिको मान खोला पश्चिमको १,६०८ वर्ग किलोमिटरको भौगोलिक इकाईलाई आधुनिक बर्दियाको रुपमा लिन थालियो । यतिमात्रै होइन १८६० नोभेम्बर १ तारेखको बगौडा ताल सन्धीले गुमेको नेपाली भू–भाग फिर्ता र नयाँ मुलुकको रुपमा जंगबहादुरले आफ्ना ८ भाइलाई बनाएको बिर्ताले पनि चिनिन्छ बर्दिया जिल्ला । घना जंगल, जगंली हिंस्रक जनावर र विषालु सर्पबिच्छूसँग प्रतिरोध गर्दै निरन्तर मानव आवादी भएको थलो हो बर्दिया ।
    तराई क्षेत्रकै सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्ज यही जिल्लामा फैलिएको छ । यही बर्दिया राष्ट्रिय निकुञ्जले विगतमा सामान्य पर्यटकलाई मात्रै होइन, विश्वकै चर्चित व्यक्तिहरूलाई स्वागत गरिसकेको छ । विशेष गरेर बाघ, माछा, गोहीको प्रत्यक्ष अवलोकनका लागि आकर्षक गन्तव्य मानिने बर्दियामा बेलायती राजकुमार प्रिन्स हृयारीदेखि टाइटानिकका हिरोसम्म पुगेका छन् ।

    बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लाको करिब ४३ प्रतिशत भूभागमा फैलिएको छ । भौतिक पूर्वाधारको अभावमा तराईको पर्यटकीय गन्तव्य ओझेलमा परेको छ । जंगली हात्ती, गैंडा, डल्फीन लगायत ५४ प्रजातीका स्तनधारी वन्यजन्तु, ४५० भन्दा बढी प्रजातीका चरा, ४३ भन्दा बढी प्रजातीका घस्रिने जनावर र १२१ प्रजातीका माछाको बासस्थान पनि हो बर्दिया । यसबाहेक सरकारले अध्यावधिक नगर्ने हजारौं भन्दा बढी प्रजातिका वन्यजन्तु तथा किटपतङ प्रजातीका किराहरूको बासस्थान हो बर्दिया निकुञ्ज ।
    यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकले जंगल ड्राइभिङ, हात्ती सफारी, ¥याफटिङ र क्याम फायरसमेत गर्न पाउँछन् । त्यति मात्र नभइ एकैपटकमा बाघ, जंगली हात्तीसमेत हेर्न पाउँछन् ।

    त्यसमा पनि निकुञ्ज घुम्न आउने विदेशी पर्यटकका लागि लाग्ने महंगो शुल्क र हवाई भाडाले समेत पर्यटक आगमनमा कमी आएको हो । यसका लागि सरकारले अन्य क्षेत्रसँगै यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा ख्याल गर्न आवश्यक रहेको छ । जब निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्छ अनि राजस्व पनि बढी उठ्ने हो ।

    बर्दियाको अर्को पर्यटकीय गन्तव्य भनेको सतखलुवा ताल हो । यो ताल मानवनिर्मित ताल होइन । प्राकृतिक ताल नै हो । तालको प्रमुख विशेषता भनेकै सातवटा खोलाको पानी जम्मा भएर बनेको ताल हो । तालमा सुक्खा समयमा चुरे क्षेत्रका खोलानाला सुके पनि पानी कहिले सुक्दैन । बर्दिया जिल्लाको अन्य खोला नालामा पानी सुकेसँगै बबई उपत्यकादेखि बर्दिया निकुञ्जका वन्यजन्तुले पानी खान आउने ताल हो । सतखलुवा ताल वरपर पाटेबाघ, सालक, सुन गोहोरो र अजिङ्रजस्ता सयौं प्रजातिका वन्यजन्तु हेर्न पाइन्छ ।

    कर्णालीको पुल
    बर्दिया जिल्लाको अर्को पर्यटकीय गन्तव्य भनेको कर्णाली पुल अर्थात ‘चिसापानी’ हो । यो ठाउँको पनि आफ्नै विशेषता छ । जहाँ बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेबाट साझ ५ बजेसम्म चल्ने तीव्र गतिको चिसो हावा विशेषता बनेको छ । सयौँ स्वदेशी तथा विदेशी पर्यटकले आनन्द लिइरहेका हुन्छन् यो पुलमा । कर्णाली पुल नेपालकै दोस्रो लामो पुल पनि हो । योसँगै कर्णालको हंगालो भनेर केरुवा पुललाई समेत चिन्निछ । दुईवटा कर्णालीका भंगाल जोडिएको ठाउँमा नेपालकै सबैभन्दा लामो १ हजार १५ मिटरको पुलसमेत अवलोकन गर्न पाइन्छ ।

    खैरापुरमा कृष्णसारको नाच
    भगवान श्री कृष्णले द्वापर युगमा मुरली बजाउँदै, गाई चराउँदै गर्दा मुरलीको धुन सुन्दै गाईसँगै चर्ने र मानिसको संगत मन पराउने वन्यजन्तु हो कृष्णसार । खैरापुरको कृष्णसार संरक्षण क्षेत्र पनि पर्यटकका लागि आकर्षक स्थल हो । समुद्री सतहबाट एक सय ५२ मिटरको उचाइमा रहेको खैरापुरमो करिब १७ वर्ग किलोमिटर क्षेत्र अन्तर्गतको कृष्णसार संरक्षण क्षेत्रको ५ वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा कृष्णसारको बासस्थान छ ।

    पर्यटक जानासाथ कृष्णसारले आफ्नो नाच देखाउन थाल्ने अनौठो सुन्दर दृश्य त्यहाँ देखिन्छ । जहा ३ सयभन्दा बढी कृष्णसार एकै स्थानमा बास बस्छन् । १ सयदेखि एक सय ५० सेन्टिमिटरसम्म लम्बाइ हुने कृष्णसारको तौल ३५ किलोसम्म हुन्छ । अर्को आर्कषण भनेको कृष्णसारको भालेको सिंगको लम्बाई मात्र ४५ सेन्टिमिटर हुन्छ । जसले पर्यटकलाई लोभ्याउने गरेको छ ।

    बाँके राष्ट्रिय निकुञ्ज
    बाँके राष्ट्रिय निकुञ्ज सन् २०१० जुलाई १२ मा नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको थियो । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १ सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३ सयभन्दा बढी प्रकारका चराका प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् ।
    ११ प्रजातिका दूर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू यहाँ पाइन्छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ ।

    बागेश्वरी मन्दिर
    बाँकेको बागेश्वरी र बाँके राष्ट्रिय निकुञ्ज अर्को सुन्दर पर्यटकीय गन्तव्य हो । बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा सतिदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यस मन्दिरमा पूजाआजाका लागि भारतबाट समेत श्रद्धालुहरू आउने गर्दछन् । यो मन्दिर प्यागोडा शैलीबाट बनेको छ । यहाँ करिब ७० मिटर उच्च कोषमाथि दुर्गाको मूर्ति राखिएको छ । जसलाई छत्रले ढाकिएको छ ।

    सुपा देउराली
    अर्घाखाँचीको सुपादेउराली धार्मिक पर्यटकका लागि गतिलो गन्तव्य बनेको छ । यो मन्दिर गोरुसिंगे सन्धिखर्क सडक खण्डको सुपा खोलाको पश्चिम क्षेत्रमा रहेको छ । नरपानी र फलामे दुवै अग्ला महाभारत पर्वत श्रृंखलाको बीचमा झण्डै ४ हजार ५ सय फिटको उचाइको कहालीलाग्दो भीमकाय खोँचमा यो मन्दिर अवस्थित छ । यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने किंवदन्ती छ । त्यही किंवदन्तीअनुसार अहिले पनि यहाँ भाकल गर्ने र भाकल चढाउनेहरूको भीड लाग्ने गर्दछ । पछिल्लो समय सुपा देउराली दर्शनका लागि आन्तरिक पर्यटकको व्यापक घुइचो लाग्ने गरेको छ ।

    रेसुङ्गा र रिडी
    गुल्मीको रेसुङ्गा र रिडी पनि धर्मकर्म र घुमघाम गर्नेहरूका लागि राम्रो गन्तव्य हो । नेपालकै विशेष सांस्कृतिक तथा प्राकृतिक सम्पदा मानिने रेसुङ्गा भृगु ऋषिको तपोभूमि, रुरुको शिरोभाग, पुलस्य पुलह ऋषिको तपोभूमि, महर्षि, राजर्षि, देवर्षी एवं ब्रह्मर्षी बासस्थानयुक्त सुनौलो स्थल हो ।
    रेसुङ्गाबाट रमणीय हरियाली देखिनुका साथै तराइका फाँटदेखि भारतको भू–भागसमेत देख्न सकिन्छ । रिडी नेपालका चारधाममध्येको एक विशेष धाम हो । कालीगण्डकी रिडी खोलाको सँगम तथा स्याङ्जा, गुल्मी र पाल्पा जिल्लाको त्रिकोणात्मक मिलन क्षेत्रमा अवस्थित रिडी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले विशेष आकर्षक स्थल हो ।

    सिस्ने हिमाल
    रुकुमपूर्वमा रहेको सिस्ने हिमाल पनि पर्यटकका लागि आर्कषक गन्तव्य हो । प्रदेशकै हिमाली क्षेत्र सिस्ने हिमाल उत्तरी सीमानामा अवस्थित रमणीय एवं सुन्दर हिमाल हो । यो हिमालालाई स्थानीय भाषामा मुर्कट्टा हिमाल भनिन्छ । यो हिमाल कान्जिरोवा हिमश्रृंखला अन्तर्गत पर्दछ । यसको उचाई ५ हजार ८ सय ४१ मिटर छ ।

    सम्भावनाअनुसार ध्यान जान जरुरी
    भैरहवा गार्डेन रिर्साटका महाप्रबन्धक बिरेन्द्रकुमार गुप्ताले पर्यटन क्षेत्रको विकासका लागि नेपाल भारत सीमा नाकाबाटै चुनौती रहेको बताए । बाह्य मुलुकबाट आउने पर्यटकले अध्यागमन कार्यालयमा अनावश्यक दुःख पाउने गरेको र त्यसका कारण पर्यटकमा नकारात्मक सन्देश जाने गरेको उल्लेख गरे । ‘नेपालमा आउने पर्यटकमध्ये धेरै पैसा खर्च पर्यटकको सूचीमा भारतिय पर्यटक पर्ने गर्दछन्, तर सरकारको नीतिका कारण प्रयाप्त पैसा लिएर आउन नपाउँदा भारतीय पर्यटकले खर्च गर्न चाहेर पनि खर्च गर्न नपाएको अवस्था छ । महाप्रबन्धक गुप्ताले भने, ‘सरकार यस विषयमा गम्भिर हुनुपर्ने आवश्यकता छ ।

    अर्कोतर्फ विश्व शान्तिको मुहान पवित्र भूमि लुम्बिनीको मायादेवी मन्दिर अगाडि देखिने मगन्तेका कारण पनि पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको गुप्ताको गुनासो छ । उनले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    पर्यटन व्यवसायी तथासोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सञ्जय बजिमयले लुम्बिनी प्रदेश पर्यटनको हव भए पनि सरकारले पर्यटनमैत्री नीति बनाउन नसक्दा पर्यटन क्षेत्रको सोचे अनुरुपको विकास हुन नसकेको बताए ।

    सरकारले पर्यटन क्षेत्रका सबै ढोका बन्द गरेर पर्यटक बोलाएर कसरी आउँछन्?उनले भने, ‘पहिला सरकारले पर्यटक आउनका लागि ढोका खुला गर्नुप¥यो, स्थलमार्ग बेलहिया हुँदै आउने पर्यटकलाई प्रयाप्त पैसा लिएर आउन नदिने, अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज नचलाउने अनि पर्यटन क्षेत्रको कसरी विकास हुन्छ ?

    उनले पर्यटन व्यवसायी अहिले ठूलो मारमा परेको बताए । भारतबाट आउने पर्यटकले २५ हजार रूपैयाँभारु मात्रै लिएर आउन पाउने प्रावधानले पर्यटन क्षेत्र धरासायी भएको उनको ठम्याइ छ । उनले पोखरा तथा पाल्पा जाने दुवै बाटो बिग्रिएका कारण पनि पर्यटकलाई सास्ती भएको बताए । बुटवल पाल्पा सडकखण्ड र बुटवल नारायणगढ सडकखण्ड बन्न नसक्दा पर्यटकलाई निकै समस्या परेको उनको भनाइ छ । पर्यटन व्यवसायी बजिमयले विदेशी र भारतीय पर्यटकहरुले भारतीय गाईडलाई लिएर नेपाल घुमाउनाले हाम्रो पर्यटन क्षेत्र र स्थानीय टुरगाईड तथा होटलहरुले बुकिङ पाउन नसकेको गुनासो गरे ।

    समृद्धिको आधार बन्नुपर्ने पर्यटन
    लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको बलियो आधारका रुपमा लिएको छ । बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित यसक्षेत्रका सम्पदालाई केन्द्रमा राखेर बृहत बौद्ध सर्किट बनाउने योजनालाई प्रदेश सरकारले पूर्णता दिनेगरी लागेको छ ।

    लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र सैनामैनालाई एउटै सर्किटमा जोड्दै पर्यटनको एउटा महत्वपूर्ण गन्तव्य बनाउन सकिने प्रदेश सरकारको योजना छ । यी क्षेत्रमा पूर्वाधार विकास गर्ने र पर्यटकलाई आकर्षित गर्नेगरी मौलिक सांस्कृतिक गतिविधिमा पनि समुदायलाई जोड्ने योजना छ ।
    पहाडमा हिल स्टेशन बनाउने, निजी क्षेत्रको सहकार्यमा विभिन्न संरचना निर्माण गर्न सकिने उक्त योजनामा छ । लुम्बिनी प्रदेशमा रहेको वन सम्पदा, जल सम्पदा र धार्मिक क्षेत्रलाई अनुसन्धानसहितका पर्यटन गन्तव्य बनाउने पनि प्रदेश सरकारले योजना बनाएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij